फिचर

सरकारले भनेअनुसार पारिश्रमिक दिन नसक्ने निजी क्षेत्रको अडान

काठमाडौं । निजी क्षेत्रले लकडाउनको अवधिमा श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसकिने भन्दै आफ्नो अडान दोहोर्याएका छन् ।

निजी उद्योगी तथा व्यवसायीका दुई ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त विज्ञप्ती निकाल्दै ५० प्रतिशतभन्दा बढी तलब भुक्तानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।

दुई संस्थाले लकडाउनका कारण उद्योग व्यवसाय ठप्प भएकोले पारिश्रमिक उपलब्ध गराउन नसक्ने उल्लेख गरेका छन् ।

अर्थ मन्त्रालयले यसअघि उद्योग कलकारखानामा कार्यरत कर्मचारी तथा श्रमिकलाई सतप्रतिशत तलब दिन र तलब दिने पैसा नभए ५० प्रतिशत तलब बराबरको रकम बैंकबाट सहुलियत दरमा कर्जाको रुपमा लिन सकिने व्यवस्था गरेको थियो ।

तर निजी क्षेत्रले ५० प्रतिशत भुक्तानी दिन सकिने बताएका हुन ।

विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आफ्ना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको उनीहरुको भनाई छ ।

श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखी उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले उद्योगीहरुको माग रहेको छ ।

निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्न पनि माग गरिएको छ।