फिचर

कुवेतमा एकै दिन ९ नेपालीमा संक्रमण पुष्टी

कुवेत । कुवेतमा एकै दिन थप ९ जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । अब कुवेतमा कूल ८४ जना नेपालीमा कोरोनाको संक्रमण भएको त्यहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढ्दो क्रममा छ । यसले नेपालीहरुमा पनि निरन्तर जोखिम बढाएको छ ।

आइतबारसम्मको तथ्यांक अनुसार कुवेतमा ८४ जना नेपालीसहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

कोरोना फैलिन नदिन र यसको प्रभावबाट मुक्त रहन अपनाउनुपर्ने सतर्कता अपनाउन तथा कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन दूतावासले नेपालीहरुलाई आह्वान गरेको छ ।

कोरोना संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भएर कठिनाइ उत्पन्न भएमा दूतावासमा, कम्पनीमा वा रोजगारदाता व्यवस्थापन पक्षसँग सम्पर्क गर्न दूतावासले उल्लेख गरेको छ ।

यस मुलुकमा कीव ३५ हजार नेपाली रहेको अनुमान छ । कामको सिलसिलामा धेरै नेपाली यहाँ पुगेका छन् ।