समाचार

कर्णाली प्रदेश सिल, नेपालगन्जमा कर्फ्यु

नेपालगन्ज । कर्णाली प्रदेश अहिलेसम्म कोरोनामुक्त रहेको प्रदेश हो । तर, कर्णाली प्रदेशको तल्लो बेल्ट नेपालगन्जमा भने एकसाथ ठूलो संख्यामा कोरोना संक्रमित देखिएका छन् ।

सोहीकारण कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेशमा प्रवेश गर्ने सबै नाका बन्द गर्ने भएको छ ।

अबको एक हप्तासम्म कर्णाली प्रदेश पूर्ण रुपमा बन्द हुने भएको छ । प्रदेश विपद व्यवस्थापन केन्द्रको सोमबारको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन कार्यान्वयन गर्ने निर्णय भएको हो ।

भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने निर्णय समेत भएको छ ।

सोही तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने निर्णय गरेको हो ।

प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट समेत पठाउने निर्णय भएको छ ।

प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना भने सञ्चालन गर्ने निर्णय भएको प्रदेश कार्यालयले जनाएको छ ।

उता, कोरोना संक्रमितको संख्या निरन्तर बढेपछि बाँकेको नेपालगन्जमा भोलिबाट कर्फ्यु लाग्ने भएको छ ।

सोममबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जमा पूर्णतः निषेधित क्षेत्र घोषणा गरिएको हो ।

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिन लागिएको हो ।

कर्फ्यु लागेसँगै नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने भएको छ ।

नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय व्यक्तिमा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो ।

त्यसको दुई दिनपछि उनीसँग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टी भएको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि बाँकेका संघीय सांसदहरूले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर बाँकेमा कोरोना परीक्षण किट पठाउन, उपकरण र प्राविधिक टोली पठाउन र नेपालगन्जवासीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन समेत माग गरे ।