रोचक खवर

महेश बस्नेत र सर्वेन्द्र खनालविरुद्ध उजुरी दर्ता

काठमाडौं । सांसदद्धय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा उजुरी दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा सोमबार दिउँसो उजुरी दर्ता भएको हो ।

यी तीन जनामाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप छ ।

त्यसपछि पनि उनलाई होटेलमा बन्धक बनाएर राखेको आरोप लगाइएको छ । समाजवादी पार्टीले भने यो अपहरण प्रधानमन्त्रीकै निर्देशनमा भएको आरोप लगाएको छ ।

उजुरी दर्ता भएसँगै सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्ने बाटो खुलेको छ । त्यसपछि आवश्यकताअनुसार थप प्रक्रिया शुरु हुनेछ ।

यसअघि यो उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन् । जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने प्रावधान रहेको छ ।

उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने छ ।

अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरू महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए ।

तर, प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए । तर, उक्त दिन कार्यालयले पनि उजुरी लिन मानेको थिएन ।

त्यसपछि सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् ।

सोही उजुरीको बलमा कार्यालयले उजुरी दर्ता गर्न राजि भएको बताइएको छ । दल विभाजनको प्रयोजनका लागि सांसद अपरहण भएको समाजवादीको आरोप छ ।