फिचर

लकडाउन नखुल्ने, मोडालिटी अनुसार खुकुलो बनाइने

काठमाडौं । नेपालमा तत्काल लकडाउन नखुल्ने भएको छ ।

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिले तत्काल लकडाउन नखोल्ने निष्कर्ष निकाल्दै लकडाउन कार्यान्वयनको मोडालिटी सम्बन्धित मन्त्रालयबाट माग गरेको छ ।

सोहीकारण २५ वैशाखपछि देशभर लकडाउन नखुल्ने पक्का भएको हो । बैठकले गृह, अर्थ र स्वास्थ्य मन्त्रालयसँग यस्तो मोडालिटी माग गरेको हो ।

मन्त्रालयहरुले मंगलबार फेरी बस्ने समितिको बैठकमा आफ्नो लकडाउन सम्बन्धी मोडालिटी बुझाउने छन् ।

सोही अनुसार लकडाउन कार्यान्वयनको खाका बन्ने भएको छ । समितिको सिफारिस अनुसार मन्त्रीपरिषदेले लकडाउनबारे निर्णय लिने बताइएको छ ।

अवस्था र सुरक्षा सतर्कताअनुसार केही स्थान खुकुलो बन्ने भएका छन् भने केही स्थानमा अझै कडाई गरिने भएको छ ।

खासगरी तराई र घना शहरी क्षेत्रको लकडाउन तत्काल नखुलाउने सरकारले संकेत गरिसकेको छ ।

उच्च पहाडी र हिमाली भेगमा भने जोखिमको मूल्यांकन गरी क्रमशः लकडाउन खुकुलो बनाउने तयारी गरिएको छ ।

काठमाडौं उपत्यका जोखिमपूर्ण क्षेत्रमै रहनेछ । किनकी यहाँ संक्तमण फैलिएमा ठूलो क्षति हुन सक्ने आंकलन गरिएको छ ।

अब नेपालमा पनि ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी ट्राफिक लाइक नियम अनुसार लकडाउन कार्यान्वयन थालिने भएको छ ।

लकडाउन खुकुला भएपछि कुनै खास क्षेत्रमा वा जिल्लामा वा प्रदेशसम्म सवारी साधन, बजार पसल खुला गर्न सकिने छ । त्यहा विकास निर्माणका काम समेत सुचारु गराउने तयारी छ ।