समाचार

अनलाइन पठनपाठनका नाममा शूल्क नलिन निर्देशन

काठमाडौं । सरकारले अनलाइन पठनपाठनका नाममा कुनै पनि स्कूलले विद्यार्थीसँग शूल्क उठाउन नपाउने स्पष्ट पारेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन समेत निर्देशन दिएको हो ।

कतिपय विद्यालयले आफू खुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको उजुरी मन्त्रालयमा परेको थियो ।

सोही अनुसार मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

सरकारले विद्यालयबाट आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन निर्णय भइसकेको भन्दै यसको कार्यान्वयनमा गम्भीर बन्न समेत सचेत गराएको छ ।

कक्षा १० को अन्त्यमा लिइने एसईई र कक्षा ११ तथा १२ का परीक्षाहरु स्थगित रहेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थितिको सुक्ष्म अध्ययन र परामर्श लिने कार्य जारी रहेको मन्त्रालयको भनाई छ ।

परीक्षा सञ्चालन सम्बन्धमा हालसम्म कुनै थप वा नयाँ निर्णय नभएको मन्त्रालले जनाएको छ ।

शूल्क मिनाहाको कार्यान्वयनको जानकारी स्थानीय तहमार्फत सरकालाई गराउन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको छ ।