फिचर

संसारभर हवाई यात्रुलाई मास्क अनिवार्य गरिदै

काठमाडौं । पश्चिमा मुलुकहरु मास्कलाई त्यति निको मान्दैनन् । किनकी यसको प्रचलन चीनबाट शुरु भएको हो । चीनले नै यसको व्यापाक प्रचार गरेको हो ।

सोहीकारण जर्मनीलगायत कतिपय मुलुकमा मास्कको सार्वजनिक प्रयोगमा समेत प्रतिवन्ध थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिएसँगै अब त्यो मान्यता कायम रहेन ।

संसारभर मास्क अनिवार्य भएको छ । अब हवाई यात्राका दौरानसमेत मास्क अनिवार्य गर्ने तयारी थालिएको छ ।

कम्पनीहरुले आफ्ना यात्रुका लागि त यस्तो नियम ल्याइसकेका छन् । तर, अब अन्तराष्ट्रिय रुपमै यसको अनिवार्य प्रयोगमा जोड दिने तयारी थालिएको । कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा ठूलो सङ्कट उड्ययन र होटेल क्षेत्रमा परेको छ ।

अब हवाई यात्रुले अनिवार्य रूपमा उडानको पुरै समय मास्क लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

अमेरिकाका ठूला वायुसेवाहरूले कोरोनाभाइरस फैलिन रोक्ने उद्देश्यले यात्रु र चालकदलका सदस्यका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ नीति र निर्देशनको तयारी गरेका छन् ।

विश्वका अरू मुलुकका वायुसेवामा समेत यसको प्रारम्भ भइसकेको छ । नेपालमा बुद्ध एयरले समेत सुरक्षा निर्देशिकामार्फत मास्क अनिवार्य गरेको छ ।

अहिले संसारभर ९० प्रतिशत अन्तर्राष्ट्रिय व्यवसायिक उडान बन्द छन् । अप्रिलपछि भने धेरै जसो कम्पनीले उडान थाल्ने योजना बनाएका छन् ।

अमेरिकाको डेल्टा एअरलाइन्सका अनुसार चेक इन क्षेत्र, प्रिमियम लाउन्ज, बोर्डिङ गेट र विमानमा सम्पूर्ण उडान अवधिभर मास्क वा अन्य मुख ढाक्ने वस्तु लगाउनुपर्ने नियम ल्याएको छ ।

अमेरिकन एअरलाइन्स र युनाइटेडमा समेत चालकदल र यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने नियम ल्याएका छन् ।