फिचर

विदेशमा नेपाली समस्यामा छन्, स्वदेशमा व्यवस्थापन चूनौतिपूर्ण

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमाथि समस्या बढ्दै गएको छ ।

खासगरी रोजगारीको सिलसिलामा गएका धेरै नेपाली नागरिकमाथि रोजगारी, स्वास्थ्य तथा अन्य कानूनी समस्याहरु शुरु भइसकेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी बढ्दै गएका कारण विदेशमा नेपालीहरु माथिको समस्या बढ्दै गएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उपस्थित भई मन्त्री ज्ञवालीले अहिलेकै अवस्थामा विदेशमा काम गर्ने १० देखि ३० प्रतिशत नेपालीको रोजगार गुम्न सक्ने जानकारी गराएका हुन् ।

महामारी सिमित अवधि र सिमित क्षेत्रमा रहने अनुमान विपरित यसको फैलावट फराकिलो भएको छ ।

जसले गर्दा विदेशमा कामदार र विद्यार्थीहरुमाथि समस्या बढेको छ । अर्कोतर्फ हरेक मुलुकले पहिलो प्राथमिकता आफ्ना नागरिकलाई दिने भएकाले समेत आप्रबासी नेपालीमाथि चूनौति बढ्दै गएका हुन् ।

महामारीका कारण नेपालीको भिसा अवधि सकिने, श्रमिकको कम्पनीसँग करार अवधि सकिने र अवैध हुन पुग्दा कानूनी समस्या देखिने खतरा झन बढेको उनको भनाई छ ।

कतिपय देशबाट कामदार कटौती गर्ने र रजिस्ट्रेसन सुरु गरेको जानकारी आएको समेत उनले बताए ।

विदेशमा रहेका संक्रमित नेपालीको भने अहिलेसम्म निःशुल्क उपचार भइरहेको उनको भनाई छ । तर ती देशमा संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले घरमै बसेर आराम गर्न सल्लाह दिइरहेको छ । यसले अझ बढी जोखिम निम्त्याएको हो ।

कोरोना महामारीका कारण विदेशमा नेपाली समस्यामा पर्ने र उनीहरु घर फर्कन चाहेको अवस्थामा मुलुक भित्र व्यवस्थापन अर्को चूनौति रहेको उनको भनाई छ ।

वैदेशिक रोजगारी गुमाएर फर्किनेहरुका कारण नेपाली श्रम बजारमा गहिरो समस्या पर्न सक्ने चेतावती उनले दिएका छन् ।

मुलुक भित्र पनि रोजगारी गुमेको र विदेशबाट पनि बेरोजगार यूवा नेपाल आउँदा एकसाथ ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई रहेको छ ।

सरकारले युवा व्यवस्थापनको तयारी समेत थालेको भन्दै उनले विदेशमा कुनै पनि नेपालीमाथि समस्या नपरोस भनी कूटनीतिक पहल समेत गरिरहेको उनको भनाई छ ।