विज्ञान प्रविधि

नेपालमा फैलिएको कोरोनाको छुट्टै अध्ययन गरिदै

काठमाडौं । नेपालमा फैलिएको कोरोना भाइरसबारे छुटटै अध्ययन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गरिदैछ ।

यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफल आयोजना गरेको छ ।

कोरोनाका विभिन्न जिन हुने र नेपालमा कुन प्रकारको जिन फैलिरहेको छ भन्ने पत्ता लगाउन छुटटै अनुसन्धान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्टार पुष्पराज खनालका अनुसार नेपालमा आएको जिन कस्तो प्रकारको हो भनेर अध्ययन गरिने भएको हो ।

उनका अनुसार कोरोना संक्रमणबाट अरू देशमा मानिसको मृत्यु भइरहेको अवस्थामा नेपालमा भने अहिलेसम्म सबैजसो संक्रमितको अवस्था सामान्य छ ।

सोहीकारण नेपालमा यसको विशेषताका सम्बन्धमा अध्ययन गर्न लागिएको हो ।

अध्ययनका लागि नेपालमा रहेका भाइरोजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल शुरु गरिएको हो ।

नेपालमा अधिकांश संक्रमितमा कोरोनाको लक्षण नै देखिएको छैन । परिषद्ले संक्रमितकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने छ ।

अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारतलगायत अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लाग्नेछ ।

नेपालभित्रका वैज्ञानिकले नै ती जिनको वर्गीकरण गर्न सक्ने मन्त्रालयले जानकारी दिएको छ । चीन, अमेरिका, भारतलगायत मुलुकमा समेत यस्तो अध्ययन शुरु भएको छ ।