स्वास्थ्य

कोरोना भाइरससँग जुध्न न्यूह्यामसरमा सामुदायीक सकृयता, पिपिई देखि नगद राहतसम्म वितरण

प्रभात भट्टराई/न्यू ह्यामसर

कोरोना भाइरस संक्रमणसँग जुध्न न्यू ह्यामसरका नेपालीहरुले समुदाय केन्द्रित गतिविधीमा जोड दिएका छन् । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था न्यू ह्यामसर नेपाली समाज एवं गैर आवासीय नेपाली संघ अमेरिका, न्यू ह्यामसर च्याप्टरको अगुवाइमा जनचेतना अभिबृद्धि देखि अत्यावश्यक स्वास्थ्य सामग्री वितरणसम्मका कार्यक्रम सञ्चालन गरिएको हो ।

भाइरस संक्रमण एवं त्यसको आर्थिक प्रभाव विरुद्ध जुध्न समाजको अगुवाइमा राज्यमा स्थापित सबै नेपाली संघ संस्थाका प्रतिनिधी एवं सामाजीक अगुवाहरु सम्मिलित टाष्कफोर्स गठन गरिएको छ । टास्कफोर्सले आफ्नो स्रोतबाट एवं राज्य र स्थानीय सरकारसँग समन्वय गरि अपरिहार्य स्वास्थ्य उपकरण समुदायमा वितरण गरेको हो ।

संक्रमणको सुरुवाती चरणमा समाजले राज्यमा रहेका नेपाली स्वास्थ्यकर्मीसँग छलफल आयोजना गरि कोभिड १९ बाट बच्ने उपायबारे सचेतना अभिबृद्धि कार्यक्रम सञ्चालन गरेको थियो । राज्यमा अहिलेसम्म तीन जना नेपालीलाई संक्रमण देखिएको छ । उनीहरुमध्ये दुईजना स्वस्थ भइसकेका छन् भने एक जना आइसोलेसनमा रहेका छन् । कसैले घरमा आइसोलेसनको व्यवस्था गर्न नसके सिमित संख्यामा आइसोलेसन कक्ष उपलब्ध गराउन समुदायका मनकारीहरु तयार रहेको समाजका अध्यक्ष सोम गुरुङले जानकारी दिए ।

साथै रोजगारी गुमाएका एवं सामाजीक सुरक्षा नम्बर नभएका विद्यार्थीहरुलाई समाज अन्तर्गतको आपतकालिन राहत कोषबाट आर्थिक सहायता वितरण सुरु गरिएको छ । कोष संयोजक इश्वरी भट्टका अनुसार अहिलेसम्म १० जना एफवान भिषामा रहेका विद्यार्थी टाष्कफोर्सको सम्पर्कमा आएका छन् । उनीहरुमध्ये तीन जनालाई ३०० डलरको दरले नगद सहयोग प्रदान गरि सकिएको छ भने चार जनाले आफुहरुको आर्थिक अवस्था सन्तोषजनक रहेको कारण राहत आवश्यक नपरेको बताएका छन् । बाँकी तीन विद्यार्थीलाई चाँडै राहत रकम उपलब्ध गराइने भट्टले जानकारी दिए । स्थानीय विद्यार्थीहरुलाई सहयोग पुर्याउनु अगावै समाजले लुइजियानाबाट आएका एक नेपाली विद्यार्थीलाई खाद्यान्न एवं नगद सहयोग गरेको गरेको थियो ।

टाष्कफोर्सले सिनेटरहरु जीन सिहिन, म्यागी हसन , राज्यका गभर्नर क्रिस सुनुनु एवं म्यानचेष्टर सिटी मेयरको कार्यालयसँग समन्वय गरी व्यक्तिगत सुरक्षा सामग्री जुटाउँदै आएको छ । गभर्नर कार्यालय अन्तर्गतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले श्रृङ्खलाबद्ध रुपमा नेपाली सामुदायीक संस्थाहरुलाई माष्क, पञ्जा, ह्याण्ड सेनिटाइजर लगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ । यसरी जुटाएको सामग्री एक हजार बढि नेपालीहरुलाई उपलब्ध गराइएको टाष्कफोर्स एवं समाजका महासचिव माधव गुरुङले विश्वन्यूजलाई बताए । राज्यमा बसोबास गर्ने नेपाली महिलाहरुले घरैमा मास्क बनाएर समेत समुदायमा वितरण गरेका थिए ।

नेपालीहरुको बाक्लो वस्ती रहेको म्यानचेष्टर, हुक्सेट, कंकर्ड, सिकोष्ट/डोभर लगायत क्षेत्रबाट स्वयं सेवकहरुले स्वास्थ्य सामग्री वितरण गरेका छन् । अश्वस्थता या असक्तताको कारण तोकिएको स्थानमा स्वास्थ्य सामग्री लिन आउन नसक्नेलाई घरैमा पुगेर सेवा दिने प्रवन्ध मिलाइएको समाजका अध्यक्ष गुरुङको भनाइ छ ।

टाष्कफोर्सले न्यू ह्यामसर मात्र नभइ अन्य अमेरिकी राज्यका नेपालीसँग पनि सहयोग आदान प्रदान गरि रहेको उनले बताए । ‘हामीले अमेरिका भर नेपाली बसोबास गरेको सबै ठाउँबाट सूचना आदान प्रदान गरि रहेका छौँ , उनले भने – त्यस अनुरुप छिमेकी राज्यमा बसोबास गर्ने नेपालीहरुलाई सकेको अन्य सहयोग पनि गर्दैछौँ ।’ न्यू ह्यामसरभन्दा धेरै संक्रमण फैलिएको मासाचुसेट्सका केही संक्रमित नेपालीलाई चिकित्सकको सम्पर्कमा पुग्न प्राविधिक सहयोग एवं केहीलाई थर्मो मिटर , अक्सी मिटर लगायतका स्वास्थ्य उपकरण उपलब्ध गराइएको उनले जानकारी दिए ।

टाष्कफोर्सले स्वास्थ्य सहायताका अलावा अमेरिकी सरकारले प्रदान गरेको स्टिमुलेसन चेक, बेरोजगार बीमा आदी आवेदनमा समेत राज्यका नेपालीहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइ रहेको छ । हरेक शुक्रबार टाष्कफोर्सको बैठक राखेर नयाँ रणनीति एवं कार्यनीति तर्जुमा गर्ने गरिएको समाजका अध्यक्ष गुरुङको भनाइ छ ।