समाचार

कोरोनाले पारेको असर अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाले अर्थतन्त्रमा पारेको अध्ययन गर्न एक समिति गठन गरेको छ ।

पूर्वअर्थमन्त्री रामशरण महतका संयोजकत्वमा अर्थतन्त्र विशेष समिति गठन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

गत वैशाख १७ गते बसेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार समिति गठन भएको कांग्रेसको भनाई छ ।

कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न समितिले काम गर्ने भएको छ ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसकेका नेताहरु रहने गरी समिति गठन गरेको नेपाली कांग्रेसले उल्लेख गरेको छ ।

समितिको संयोजक डा. रामशरण महत छन् । समितिमा १४ जना सदस्य राखिएको छ । कांग्रेसका अनुसार महेश आचार्य, ज्ञानेन्द्र बहादुर कार्की, नारायण खड्का, मीनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदय शम्शेर राणा, डा.पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदिशचन्द्र पोखरेल, डा. गोविन्द पोखरेल र डा. स्वर्णिम वाग्ले सदस्यका रुपमा रहेका छन्।

समितिले तत्कालीन रुपमा अत्याश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटका प्राथमिकताबारे, धारणा र दीर्घकालीन रुपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने भएको छ ।