समाचार

न्युयोर्कमा पछिल्लो समय काम नगरेर घर बस्नेहरु कोरोना संक्रमित

न्युयोर्क

न्युयोर्क राज्यमा कोरोनाका कारण पछिल्ला समय अस्पताल भर्ना हुन आउनेहरु मध्येको ठुलो हिस्सा ‘स्टे एट होम अर्डर’ अन्तर्गत घरमा नै बस्नेहरु देखिएको अनौठो तथ्यांक बाहिर आएको छ । काममा नगएर अधिकांश घरमा बस्नेहरु नै संक्रमित भएर अस्पताल भर्ना हुन पुगेको तथ्यांक बाहिर आएसंगै के वास्तवमा “स्टे एट होम अर्डर” ले काम गरेको छ ? भन्ने प्रश्न पक्कै उब्जाएको छ ।  

गत हप्ता न्युयोर्कमा अस्पताल भर्ना भएका एक हजार कोरोनाका बिरामी मध्ये ६६ प्रतिशत बिरामी लामो समयदेखि काममा नगएर घरमा नै बस्दै आएकाहरु छन् भने १८ प्रतिशत नर्सिङ होम (बृद्धा आश्रम) मा बस्दै आएकाहरु छन् । अस्पताल भर्ना हुन पुगेका ती ६६ प्रतिशत बिरामी काममा नगएर घर बसेको तर समय समयमा ग्रोसरी गर्न वा अन्य अत्यावश्यक सामाग्री लिन स्टोर वा अन्यत्र  जाने गरेको पाईएको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले बताएका हुन् । कुमोले बुधाबार नयाँ तथ्यांक सार्वजनिक गर्दै भनें; ती बिरामीहरु जो घर बसेको समयमा पनि संक्रमित हुन पुगे उनीहरु स्वयमको व्यबहारले संक्रमित भएको पाईयो जुन व्यबहारलाई हालको “लक डाउन” ले नियन्त्रण गर्न सक्दैन भन्ने प्रस्ट भयो” ।  

बुधबार दिउसोसम्म न्युयोर्कमा १९ हजार ८ सय ७७ को मृत्‍यु भै सकेको छ भने ३ लाख २१ हजार संक्रमित भएका छन् । सिंगो अमेरिकामा भने ७२ हजार भन्दा धेरैको मृत्‍यु र १२ लाखमाथि संक्रमित भै सकेको जोन हप्किन्सको तथ्यांकमा जनाइएको छ । पछिल्ला केही दिनको तथ्यांकले न्युयोर्कमा संक्रमित र मृतकको संख्यामा केही गिरावट आएपनि बाँकी अमेरिकामा भने त्यो संख्या उकालो लाग्दै गरेको देखिएको छ । 

अघिल्लो हप्ता न्युयोर्कमा अस्पताल भर्ना हुने ८० प्रतिशतले मार्चमा जारी गरिएको ‘स्टे होम अर्डर’ देखि कुनै पनि सार्वजनिक सवारी समेत प्रयोग नगरेको देखिएको छ । उपचारको लागि भर्ना भएकाहरु मध्ये ७३ प्रतिशत मानिस ५१ बर्ष माथिको रहेको र त्यो समुह मध्येबाट पनि सिकिस्त बिरामी भने ६१ देखि ७० बर्ष उमेर समुहका रहेको छन् ।अस्पताल भर्ना हुने मध्ये ९६ प्रतिशत बिरामी पहिल्यैदेखि कुनै न कुनै रोगसँग लडि रहेकाहरु भएको बताइएको छ ।  

गभर्नर कुमोले बुधबार नियमित ब्रिफिङका क्रममा थप चर्चा गर्दै भनें; “लकडाउन गरेको यति लामो समय भै सक्दा पनि किन यति धेरै मानिस संक्रमित भईरहेका छन् ? भनेर न्युयोर्कस्थित अस्प्तालहरुले गत हप्ता गरेको एक सर्बेक्षणबाट मानिसको ब्यक्तिगत व्यबहारबाट नै संक्रमित भै रहेको र अहिलेको स्टे होम अर्डरले पूर्णरुपमा काम नगरेको तथ्य फेला परेको छ” ।  

• को धेरै संक्रमित ? 

न्युयोर्क सहरको पाँचै बोरोमा देखिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै २५ प्रतिशत अस्वेत जातीहरु छन् भने दोश्रो नम्बरमा २४ प्रतिशत स्वेत जातीका छन् ।  २० प्रतिशत हिस्प्यानिक अथवा ल्याटिनो छन् ।  नयुयोर्कमा सबैभन्दा कम एसियनहरु ८ प्रतिशत मात्र संक्रमित छन् । बाँकी २२ प्रतिशत मिश्रित जातीहरु छन् ।

न्युयोर्क राज्य मे १५ तारिख सम्मका लागि बन्द छ ।  मे १५ पछाडि पहिलो नम्बरमा उत्पादन र निर्माण ब्यवसाय सम्बन्धि कामहरु खुल्ने छन् । दोश्रो चरणमा प्रोफेसनल कामहरु खुल्ने छन् भने तेश्रो चरणमा मात्र रेस्टुरेन्ट ब्यवसाय खुल्ने छन् । अन्तिम चरणमा मात्र शैक्षिक र मनोरञ्जनात्मक क्षेत्रहरु खोलिने छन् ।  

प्रस्तुति : बिजय राम पौडेल