समाचार

भारतीय नागरिक नेपाल छिर्न खोजेपछि सीमामा विवाद, प्रहरीले गर्यो हवाई फायर

बारा । नेपाल र भारतीय सिमाना बन्द छ । यसकारण सिमा नाकाबाट एक अर्काको मुलुकमा छिर्न प्रतिवन्ध लागेको छ ।

तर, बाराको सुवर्ण गाउँपालिकामा भारतीयको ठूलो संख्या नेपाल छिर्न खोजेपछि बिहीबार तनाव उत्पन्न भएको छ ।

शुरुमा दुई जना भारतीय नागरिक नेपाल छिर्न खोजेको र उनीहरुलाई प्रहरीले रोकेपछि ठूलो संख्यामा भारतीय चेकपोष्टमा आक्रमण गर्न थालेको थिए ।

त्यसक्रममा सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्रमा भारतीयहरु नेपाल प्रवेश गर्न खोजेका थिए । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

दिउँसो भएको यस घटनालाई तत्काल नियन्त्रणमा लिइएको ्प्रहरीले जनाएको छ ।

भारतको बिहार राज्य अन्तर्गत हनुमाननगर गाउँबाट दुईवटा गाडीमा ठूलो समूह नेपाल प्रवेश गर्न खोजेको थियो ।

भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेको र त्यस भीडलाई नियन्त्रणमा दिन प्रहरीले हवाई फायर गरेको बताइएको छ ।

नेपाली सुरक्षाकर्मी माथि भारतीय नागरिकले आक्रमण गर्न खोजेपछि नेपाली समेत प्रतिकारमा उत्रन पुगेका थिए ।

त्यसपछि स्थिती झनै तनावपूर्ण हुने अवस्था आएको थियो । तर, दुबै मुलुकका सुरक्षाकर्मीले आफ्ना नागरिकलाई सम्झाएर स्थिति नियन्त्रणमा लिएका थिए ।

यस क्षेत्रमा कतिपय भारतीय नागरिकको खेतमा जान समेत नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता र नेपाल र भारतको सीमानाका बन्द भएको परिस्थितिका कारण यहाँ तनाव उत्पन्न भएको छ । खेतमा बाली खेर जाने भन्दै उनीहरुले जान पाउने माग गरेका थिए ।