समाचार

सिमानाको पर्खालमा कालो रङ लगाउँदा सिमा झन सुरक्षित हुने ट्रम्पको तर्क - कालो रङ पोत्न दिए आदेश

न्युयोर्क      

राष्ट्रपति डोनाल्ड  ट्रम्पले दक्षिण सिमानामा निर्माण गरेको फलामको पर्खाललाई कालो रंग लगाउने आदेश दिएका छन् । ट्रम्पले फलामको पर्खालमा कालो रङ लगाउँदा सुर्यको ताप कालो रङले संचित गर्ने र बिशेष गरी गर्मी याममा तातेको फलाम छोएर पर्खाल चढन गार्हो हुने भन्दै सिमानामा लगाइएको फलामको बारमा कालै रङ लगाउने आदेश दिएका हुन् ।  

वासिङ्टन पोष्टले प्राप्त गरेको रंग सम्बन्धि सरकारी कन्ट्र्याक पत्रका अनुसार एक्रेलिक रंग लगाउँदा ५० लाख अमेरिकी डलर खर्च हुने यदि पाउडर कोट गरेर प्रिमियम रङ लगाउने हो भने ३ अरब अमेरिकी डलर खर्च हुने अनुमान छ । राष्ट्रपति ट्रम्पले अहिले भर्खरै मन परिवर्तन गरेर बारलाई रंग्याउने चाहना राख्नु भयो अब हामी कन्ट्र्याक बदल्दै छौं, सिमानामा बार लगाउने कामको जिम्मेवारी लिदैं आएका एक सरकारी कर्मचारीको हावाला दिदैं वासिङ्टन पोस्टले लेखेको छ । राष्ट्रपति ट्रम्पले गत महिनाको व्हाईट हाऊस बैठकमा नै सिमानाको बारमा रङ लागाउने निर्देशन दिएका थिए । ट्रम्पले आफ्नो ज्वाँइ जरेद कुस्नरलाई रङ लगाउन लाग्ने खर्च र अन्य प्रकृयाको लागि अगाडि बढ्न भनेका थिए ।  

ट्रम्पले सिमानाको बारमा रङ लगाउने कुरा भने अहिले मात्र गरेका होईनन् । गत बर्ष मे महिनामा पनि राष्ट्रपति ट्रम्पले दक्षिणी सिमानाका बारमा निक्खर कालो रङ लगाउँदा फलामले धेरै सौर्य किरण सोसेर राख्ने र बार चढेर अमेरिका प्रबेश गर्नेलाई कठीन हुने तर्क राखेका थिए । ट्रम्पले ती पर्खालको चुचोमा फलामको तिखो सुईरो राख्नु पर्ने जस्ले गर्दा पर्खाल नाघ्न खोज्नेहरुको हात काट्ने तर्क पनि पेस गरेको जनाईएको छ ।  

साउथ डकोटा राज्यस्थित फिशर स्याण्ड एण्ड  ग्राभल नामक कम्पनीले ४० करोड अमेरिकी डलर लागतको एरिजोनाको सिमानामा निर्माण गर्न लागिएको नयाँ पर्खाल निर्माणको ठेक्का पाउने अपेक्षा गरे अनुसार कालो रङको लागि लाग्ने अनुमानित मुल्य समेत माग गरिएको छ । फिशर स्याण्ड एण्ड ग्राभलले ३० फिट आग्लो उक्त बारमा कालो रङ लगाउन अनुमानित ५० लाख अमेरिकी डलरदेखि ३ अरब अमेरिकी डलरसम्म लागत लाग्ने बताएको वासिङ्टन् पोस्टले जनाएको छ ।  

राष्ट्रपति ट्रम्प पछिल्ला समय सिमानाको पर्खाल गैह्र कानूनी रुपमा अमेरिका प्रवेश गर्नेहरुलाई रोक्न मात्र नभै यो पर्खालले जनस्वास्थ र सुरक्षाको लागि पनि दाबी गर्दै आएका छन् । ट्रम्पले मंगलवार सिमानाको बारको महत्वसँग आफ्नो पनि महत्व दर्साउँदै एक ट्विट गरे “मेक्सिको दु:खका साथ धेरै ठुलो कोरोना महामारीसँग जुधिरहेको छ ।  अहिले क्यालिफोर्नियामा त्यहीबाट आयो ।  म दक्षिण सिमाबाट मान्छे भित्रिन दिन्न । सिमान अहिले धेरै कडा छ र बारहरु लगाउनने काम ब्यापक छ । तिनीहरु सबै भाग्यमानी छन् किनकि म राष्ट्रपति छु” ।