फिचर

आजबाट खुकुलो हुँदैछ लकडाउन, उद्योग, उत्पादन र बैंक खुल्ने

सांकेतीक तस्वीर

काठमाडौं । आजबाट नेपालमा लकडाउन खुकुलो हुँदैछ । खासगरी बैंक, वित्तीय संस्थाको सेवा अब सूचारु भएको छ । अत्यावश्यक क्षेत्रका ४४ प्रकारका उद्योग धन्दासमेत आजबाट सूचारु हुने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन सर्तसहित खुकुलो बनाएको हो।

उद्योग खोल्दा भने ३० प्रतिशत मात्र कामदारलाई काममा लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने तथा उद्योग परिसरमै बास बस्ने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

आफ्ना कर्मचारीलाई समुदायसँग घुममिल नहुने वातावरण समेत उद्योगले मिलाउनु पर्ने छ । खाना र खाजाको व्यवस्था समेत कार्यस्थलमै हुनुपर्ने शर्त सरकारले राखेको छ ।

अब औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय भएको छ ।

सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धी, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय भएको छ ।
यसैगरी फलफुल र दुग्ध जन्य वस्तुको उत्पादन र विक्रि वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको हो।

उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ।

यस्तै राष्ट्रिय गौरबका आउोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ।

त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ।

सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने, त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ।

तर, यस्ता उद्योग कलकारखाना संचालनमा ल्याउँदा सामाजिक दूरी कायम गर्नुपर्ने, मजदूर तथा कामदारको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी सम्बन्धित उद्योगले गर्नुपर्ने र पर्याप्त सचेतता समेत अपनाउनुपर्नेछ ।

उद्योगहरुको लागि आवश्यक कच्चा पदार्थ ल्याउन र तयारी मालवस्तु विभिन्न बजारहरुमा पठाउन ढुवानीका साधनहरु समेत संचालन गर्न सक्नेछन् । यसका लागि छुट्टै पास चाहिने छैन भने सम्बन्धित उद्योगको पत्रका आधारमा त्यस्ता गाडी चल्न पाउनेछन् ।