विश्व

जर्मन लीग बुन्डेस लिगा १६ मे बाट पुनः सूचारु

काठमाडौं । कोरोनाको कहरबीच केही सुखदः समाचार आउन थालेका छन् । कुनै समय कोरोनाबाट सबैभन्दा प्रताडित भएको यूरोप र त्यसमा नि जर्मनीले अब राष्ट्रिय फूटबल लीग संचालनको तयारी गरेको छ ।

जर्मनीको प्रतिष्ठित फुटबल प्रतियोगिता बुन्डेस लिगा १६ मे बाट बन्द रंगशालामा सुरु गर्ने निर्णय भएको हो ।

जर्मन फुटबल संघले बिहीबार कोरोनाका कारण अनिश्चित बनेको बुन्डेस लिगा १६ मेबाट सुरु हुने जानकारी गराएको हो ।

कोरोनाको फैलावटसँगै मध्य फेब्रुअरीपछि प्रतियोगिता अनिश्चित बनेको हो । अब खेलाडीलाई मैदान प्रवेशका लागि अनुमति दिइएको छ ।

जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनिक गर्दै शनिबारबाट प्रतियोगिता सुरु हुने बताएका छन् ।

उनका अनुसार पहिलो दिन ६ वटा खेल खेलाइने भएको छ । जर्मनी लीग स्थगन पछिको पहिलो भिडन्तमा डर्बीद्वय साल्के र बोरुसिया डर्टमुन्डबीच खेल हुने छ ।

आइतबार साविक विजेता बार्यन म्युनिखले युनियन बर्लिनविरुद्ध प्रतिस्पर्धा गर्ने छ। सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ।

जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेस लिगाको अवरुद्ध सिजन पुनः सुरु गर्ने घोषणा गरेकी थिइन् । कोरोना करीव नियन्त्रणमा आएको भन्दै जर्मनीले लकडाउन समेत खुकुलो पारिरहेको छ ।