रोचक खवर

सिंहदरबारको मुखमै चिनियाँ नागरिक र प्रहरीबीच घम्साघम्सी, ३३ चिनियाँ पक्राउ

काठमाडौं । नेपालबाट चीन फिर्ता हुन पाउनु पर्ने भन्दै प्रदर्शनमा उत्रिएका चिनियाँ नागरिक र प्रहरीबीच शुक्रबार झडप भएको छ ।

लकडाउनपछि नेपालमै अड्किएका चिनिया नागरिकले पैसा सकिएको र आफुहरु स्वदेश फर्कन पाउनु पर्ने माग गर्दै प्रर्दशनमा उत्रिएका हुन् ।

सिंहदरबार अगाडी निषेधित क्षेत्रमा भेला भएर प्रदर्शन गरेका उनीहरुले प्रहरीमाथि नै जाइलागेका थिए । त्यसपछि प्रहरीले लाठिचार्ज गरेको थियो ।

विहीबार दुई वटा जहाजले ३ सय भन्दा बढी चिनियाँ नागरिकलाई घर फर्काएको थियो । तर, नेपालमा छुटेका चिनियाँ भने प्रदर्शनमा उत्रिएका थिए ।

लकडाउन समयमा निषेधित क्षेत्र नै तोडेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोजेको थियो । तर, चाइनिजहरु भने हातपातमा उत्रिएका थिए ।

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक भेला भएका थिए ।

हातपातमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्रिएको छ ।

झडपमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र तीन जना चिनियाँ नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।