फिचर

बिदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्दार गर : देउवा

काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले बिदेशमा अफ्ठ्यारो अवस्थाका रहेका नेपालीलाई उद्दार गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले विदेशमा नेपाली कोरोनाबाट प्रताडित रहेको र अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य रहेको बताए ।

उनले यस सम्बन्धि आवश्यक ब्यवस्थापनको योजना निर्माण गरी संसदमा यथासिघ्र पेश गर्न र उद्दार थाल्न माग गरेका छन् ।

देउवाले कोरोनाको परिस्थिति विश्लेषण गर्दै गम्भीर रुपले अघि बढ्न समेत सरकारलाई सुझाव दिए । उनले कोरोनाको विश्वव्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरूको गहिरो समीक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन माग गरेका हुन् ।

 

कोरोना संक्रमित भई उपचाररत नेपाल भित्रका सबै नेपाली र विभिन्न देशमा रहेका तीन हजारभन्दा बढी नेपालीको स्वास्थ्य लाभको कामना समेत देउवाले गरे ।

उनले स्वास्थ सामग्री अभावका बावजुद उच्च मनोबल र उच्च मानवीय भावना साथ ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेका स्वास्थकर्मीको उच्च कदर गर्दै उच्च सम्मान प्रकट गर्ने बताए ।

अहोरात्र जिम्मेवारी निभाइरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी एवं सफाइको क्षेत्रमा निरन्तर कार्य गरिरहेका सफाइकर्मीको समेत उनले प्रशंसा गरेका थिए ।

कोरोनाका कारण उत्पन्न अनेक जटिलता असीम धैर्य साथ सामना गरिरहेका स्वदेश र विदेशका समस्त नेपालीको धैर्यको प्रशंसा गर्दै आजको परिस्थितिलाई संयम र एकता साथ सामना गर्न समेत उनले आह्वान गरेका छन् ।

 

उनले लकडाउनले श्रमिक, बेरोजगार र विद्यार्थीलाई सबैभन्दा संकटमा पारेको उल्लेख गरे । सरकारले पर्याप्त राहत नदिँदा हजारौं श्रमिक पैदल हिँडेर गाउँ फर्किएको उनको भनाई छ ।

सुकुम्बासीलाई जाउलो पुर्‍याउने तत्कालीन दायित्व बिर्सेर सरकारले यो बेला सुकुम्बासी आयोग गठन गर्नुको तर्क नभएको समेत बताए ।

श्रमिक, बेरोजगार, कृषक, डेरा बस्ने विद्यार्थी, पत्रकार, मिडिया हाउस, पर्यटन व्यवसायीदेखि साना व्यापारी हुँदै उद्योगी व्यवसायीसम्मलाई विविध ढंगले राहत दिने बृहत्तर प्याकेज ल्याउन उनले आग्रह गरे ।

 

सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरीत दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप उनले लगाए ।