फिचर

म्यानह्याटनमा मनाउँदै आएको 'नेपाल डे परेड' यो बर्षका लागि स्थगित गरियो

न्युयोर्क      

प्रत्येक बर्ष ‘मे’ महिनामा न्युयोर्कमा आयोजना गरिंदै आएको ‘नेपाल डे परेड’ कार्यक्रम यो बर्ष स्थगित हुने भएको छ ।  सन् २०१६ देखि नियमित रुपमा न्युयोर्क  राज्यको म्यानह्याटन सहरमा बिभिन्न झाँकीहरु प्रदर्शन सहित आयोजना गरिंदै आएको परेड कोरोना महामारीका कारण यो बर्षको लागि स्थगित गरिएको हो ।  आयोजकका तर्फबाट निमा शेर्पा र अनन्त सुबेदीद्वारा ६ तारिख शुक्रबार जारी बिज्ञप्ती मार्फत सन् २०२० को लागि ‘नेपाल डे परेड’ रद्ध गरिएको बताईएको हो । आयोजकद्वारा परेड रद्ध गरिएको जानकारी गराउँदै जारी बिज्ञप्तीमा भनिएको छ; “डायस्पोराका नेपालीहरुको पहिचान र गौरवका रुपमा सन् २०१६ देखि न्युयोर्क सहरमा नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पन्न हुँदै आएको नेपाली डायस्पोराको शान र पहिचानको रुपमा स्थापित भएको ‘नेपाल डे परेड’ हामी नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक कार्यक्रम हो । नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिएको थियो । तर यस वर्ष विश्व नै कोभिड-१९ को महामारीबाट संक्रमित भएको हुँदा न्युयोर्क राज्यका गभर्नर तथा न्युयोर्कका मेयरले जारी गरेको कार्यकारिणी निर्देशन अनुसार यस वर्ष ‘नेपाल डे परेड-२०२०’ आयोजना नहुने व्योहोरा डायस्पोराका सम्पूर्ण नेपालीहरुमा अवगत गराउँदछौं अर्थात् नेपाल डे परेड-२०२० स्थगित गरिएको दु:खका साथ जानकारी गराउछौ।” 

बिज्ञप्तीमा कोरोनाका कारण ज्यान गुमाउने डायस्पोराका नेपालीहरु प्रति समबेदना समेत ब्यक्त गरिएको छ । नेपाल डे परेड न्युयोर्क  म्यानहाटनको सडकमा नेपाली पोशाक नाँचगान र बिभिन्न्न झाँकी प्रदर्शन सहित मनाउने गरिएको छ भने परेडमा भाग लिन बिभिन्न्न राज्यमा बसोबास गर्ने नेपालीहरु भेला हुने गरेका छन्