रोचक खवर

चिट्ठा परेको भन्दै इमोबाट लाखौं ठगी

विराटनगर । २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । मोरङबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो ।

विराटनगर महानगरपालिका–११ का २३ वर्षीय निरज मरिक र मोरङको धनपालथान गाउँपालिकाका ३६ वर्षीय श्रवण मलाहा पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनीहरुले पुस १५, २०७५ मा २५ लाख रुपैयाँको चिट्ठा परेको भन्दै इमोमार्फत् इलामका पासाङ शेर्पालाई ठगी गरेको पुष्टि भएको छ ।

चिट्ठा परेको र त्यो वापतको रकम पाउनका लागि कर तिर्नु पर्ने भन्दै शेर्पाबाट दुई पटक गरेर एक लाख २० हजार रुपैयाँ ठगी गरेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

पहिलो पटक ४५ हजार रुपैयाँ र कम्प्युटर लक लागेको भन्दै दोस्रो चरणमा ७५ हजार रुपैयाँ मागेका थिए । बैंक खातामा रकम शेर्पाले जम्मा गरिदिएपछि भने दुवै जना सम्पर्कविहीन बनेको प्रहरीको भनाइ छ।

उक्त रकम पठाउन ग्लोबल आइएमई बैंकको खाता नम्बर उपलब्ध गराएका थिए । सोही खाताका कारण मरिक र मलाहा पक्राउ परेका हुन् । दुवैजना विरुद्ध शेर्पाले किटानी जाहेरी दिएका थिए।

मलाहालाई एक वर्ष अघि पनि विराटनगरको हाटखोला चौकबाट इमोमार्फत् ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

अदालतले मागेको २ लाख रुपैयाँ धरौटी बुझाएछि उनी छुटेका थिए। छुटेपछि पनि उही धन्दामा लागेका उनी दोस्रो पटक समातिएका हुन् ।