समाचार

व्हाइट हाउस भित्रै मडारिन थाल्यो कोरोना

न्युयोर्क

अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस स्थित ‘वोभल अफिस’ नजिकै कोरोना भाइरस मडारिन थालेको छ । ह्वाइट हाउस परिसर भित्र कम्तिमा पनि ११ जना सिक्रेट सर्भिस एजेन्टमा कोरोना संक्रमण देखिएको समाचार सार्वजनिक भएपछि ओभल अफिस नजिकै कोरोना पुगिसकेको चर्चा हुन थालेको हो । 

गत हप्ता सोमबारदेखि यता राष्ट्रपति ट्रम्प पुत्री इभान्का ट्रम्पको निजी सहयोगी (पिए) कोरोना संक्रमित भएका छन् । यद्यपी ती निजी सहयोगी बिगत केही हप्तादेखि घरमा बसेर ‘टेली वोर्किङ’गर्दै आएको र इभान्काको संपर्कमा नआएको जनाईएको छ । सोही हप्ता ट्रम्पका एक जना सैनिक सहयोगीमा पनि संक्रमण देखिएको ह्वाइट् हाउसले बिहीवार पुष्टी  गरेको थियो । ट्रम्पका ती सहयोगी नै  ह्वाइट हाउस भित्रका पहिलो कोरोना संक्रमित हुन् । उप-राष्ट्रपति माइक पेन्सकी २५ बर्षीय प्रेस सेक्रेटरी केटी  मिलरमा पनि शुक्रबारका दिन संक्रमण पुष्टी भएको हो । केटी ह्वाइट हाउसको सिनियर एड्भाईजर स्टेफेन मुलरकी पत्नी हुन् । केटी मिलरमा संक्रमण देखिए पछि नजिकको संपर्कमा आएर संक्रमणको जोखिम महसुस  गरी एफडिए कमिस्नर स्टेफन हानलाई २ हप्ताको लागि सेल्फ आईसोलेसनमा बस्न भनिएको छ ।  

याहू न्युजले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हवाला दिंदै अमेरिकी राष्ट्रपति उप-रास्ट्रपति लगायत अन्य उच्च अधिकारीहरुको सुरक्षार्थ खटिएका ११ जना सिक्रेट सर्भिस एजेन्टहरु हाल संक्रमित अवस्थामा रहेको जनाएको छ । गत मार्चमा पहिलो सेक्रेट सर्भिस एजेन्ट संक्रमित भएका थिए भने अहिलेसम्म २३ एजेन्ट निको भएको र ६० जना सेल्फ क्वारेण्टिनमा बसेको याहू न्युजले लेखेको छ ।  

अहिले हरेक दिन राष्ट्रपति डोनाल्ड ट्रम्प उप-राष्ट्रपति माइक पेन्स अन्य व्हाइट हाउस अधिकारी लगायत पत्रकारहरुको कोरोना परिक्षण नियमित रुपमा जाँच गर्ने गरिएको न्युयोर्क पोष्टले लेखेको छ । झन्डै ८० हजार नजिकै मृतकको संख्या पुग्न लाग्दा पुरै अमेरिकालाई सुचारु गर्न कस्सिएका राष्ट्रपति ट्रम्पले भाइरस संक्रमणबाट बच्न मास्क भने लगाउने गरेका छैनन्