स्वास्थ्य

तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द

काठमाडौं । नेपालमा यतिबेला मनसुन पूर्वको समय चलिरहेको छ । तर, मनसुन शुरु हुन सकिरहेको छैन । त्यसकारण देशभरको तापक्रम उच्च दरमा पुगेको छ ।

शुक्रबार काठमाडौंमा वर्षकै सर्वाधिक तापक्रम पुग्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको अत्याधिक तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ ।

शुक्रवार अत्यन्तै गर्मी महशुस गरेका काठमाडौंबासीको तुलनामा करीव १० डिग्रि  थप तापक्रममा तराईमा मानिसहरु बसिरहेका छन् ।

वीरगन्जमा अधिकतम ४५ डिग्रिसम्म तापक्रम मापन भएको छ । त्यसो त काठमाडौंमा यसअघि अतिकतम साढे ३४ डिग्रीसम्म तापक्रम पुगेको थियो ।
गर्मीले अत्याएपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना सार्वजनिक गर्दै १ देखि ६ असारसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको छलफल तथा नगर शिक्षक महासंघको राय अनुसार विद्यालय बन्द गर्ने निर्णयमा पुगेको सूचनामा जनाइएको छ ।

एकसातापछि पनि मनसुन शुरु नभई गर्मी कायमै रहे विद्यालय बन्द अर्को एक साता लम्ब्याउने तयारी महानगरपालिकाको छ ।

अघिल्लो वर्ष ८ जुनमै मनसुन शुरु भएपनि यस वर्ष भने मनसुन शुरु हुन समय लागिरहेको छ । नेपालमा औसतः पूर्वतर्फ १० जुन र काठमाडौंमा १२ जुनमा मनसुन शुरु भएको इतिहास छ ।