फिचर

कोरोना पछिको आर्थिक पुनरुत्थान र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७\७८ को बजेट कोरोलाले अर्थतन्त्रमा पारेको प्रभाव न्यूनिकरणमा केन्द्रित हुने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार कोरानाले शिथिल पारेको अर्थतन्त्रलाई पुरानै गति दिने गरी नीति तथा बजेट बनिरहेको छ ।

आइतवार राष्ट्रिय तथा प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. खतिवडाले आगामी आवको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका छन् ।

उनका अनुसार रोजगारीमा परेको प्रभाव कम गर्न कृषि, साना तथा घरेलु उद्योगको प्रवद्र्धन हुने गरी नयाँ बजेट आउनेछ ।

पर्यटनसहित अतिप्रभावित क्षेत्रलाई सहुलियतको प्याकेज ल्याइने भएको छ । ठूला र युगान्तकारी परियोजनाले बजेट पाउने भएका छन् ।

कोरोनाको कारण निजी क्षेत्रका उद्योग, व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गरिन भएको छ ।

जनताको द्रुत विकासको चाहना, राज्यका निर्देशक निर्देशक सिद्धान्त, १५ औं योजना, कोरोनाबाट सिर्जना हुने संकटलगायतलाई ध्यानमा राखेर आगामी आवको बजेट निर्माण हुने समेत उनले जानकारी दिए ।

आन्तरिक पर्यटनका गतिविधिमा जोड दिइने भएको छ । हवाई पूर्वाधार निर्माणले पनि प्राथमिकता पाउने भएको छ ।

सरकारको प्राथमिकतामा विकास सहायता परिचालन गर्ने, मूल्यवृद्धिलाई बाञ्छित सीमाभित्र राख्ने, बैंकिङ प्रणालीलाई उत्पादनमुखी तुल्याउने, रोजगारी गुमाएकालाई रोजगारी दिने, साना उद्यमलाई प्रवर्द्धन गर्ने, सिपमुलक तालिमहरु सञ्चालन गर्दै सबैलाई उत्पादनसँग जोड्ने र वैदेशिक रोजगारीमा देखिएको चुनौती पर्ने छ ।

करको दायरा बढाएर स्रोतको खोजी गर्ने, वैदशिक सहायता परिचालनलाई समेत प्राथमिकता दिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।