समाचार

सरकारले नेपाली भूमि मिचिएकोमा भारतीय राजदूतलाई दियो 'कूटनीतिक नोट'

काठमाडौं । सरकारले नेपाली भूमि भारतीय पक्षबाट मिचिएको सम्बन्धमा भारत सरकारका प्रतिनिधिसँग जानकारी लिएको छ ।

परराष्‍ट्र मन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएका हुन् ।

उनले त्यस सम्बन्धमा राजदूतलाई स्पष्ट जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माण गरेको तथा अन्य गतिविधि दोहोर्याएपछि नेपालले राजदूतमार्फत कूटनीतिक नोट दिएको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर बनाएको सडक संचालनमा ल्याएको छ ।

त्यस घटनाको परराष्ट्रमन्त्रालयले कडा भत्सर्ना पनि गरिसकेको छ । भारतले भने सडक भारतकै भूमिका बनाएको भन्दै नेपालको दावि खारेज गरेको बताएको छ ।

जसले गर्दा अहिले दुई मुलुकबीच सीमा विवाद चर्किएको छ । पछिल्लो समय भारतको रवैया विरुद्ध नेपालमा प्रदर्शन तथा विरोध समेत शुरु भएको छ ।