कला / साहित्य

कविता : मालिक

तुलसीराम पुरी 

मालिक, म गोरु हुँ, तिमी हली

तिमीले जुवामा नारेउ,

मैले दुई धार्निको जुवा काँधमा थापी दिएँ,

जोतारोले मेरो गला कसेउ मानी दिएँ,

डेड हात लामो हलो झुण्ड्याएउ तानी दिएँ,

छेउ भनेउ छेउ लागेँ, मेलो भनेउ मेलो लागेँ

कुना भनेउ कुना लागेँ ।

भसाउनु हलो भसाएउ, धासाउनु छेउ-कुना धसाएउ।

जानी जानी हलो अडकाएउ।

अनि मेरी डडाल्नुमा सिर्कुना बर्साएउ।

मेरो के दोष थियो मालिक ?

जोत्ने मेरो काम, तानी दिँएकै थिँए हलो ।

राँटो रह्यो त गल्ती तिम्रो हैन ?

हो मालिक तिमीले जोत्न जानेनौ ।

अनि बोलाएउ छिमेकको हली ।

नारेउ फेरि जुवामा ।

उसले त सुरुमै सिर्कुना बर्सायो अनि भन्यो होऽऽऽरि आईज !

न पानी न घाँस ,

म जान्दथे तिमीले सिकाएको छेउ कुना, होरि, मेलोको भाषा ।

लुरु लुरु गरि रहें आफ्नो काम, 

तै पनि छोडेन चुट्न, भाँच्यौ दर्जनौं सिर्कुना,

टोक्यो मेरो पुच्छर, सायद ढिला हिनेकी ?

मालिक, भोको पेटले गोडा लाग्छ र ? लाग्दैन नि !

मालिक,

तिम्रो अगाडि मैले बाच्नै सकिन ।

कसै गरिनी टिक्न अनि बिक्न सकिन ।

दलाल लगाएर बेचेउ खाडीमा ।

सिपालु हलीले जोत्यो, फुर्क्याएर जोत्यो, घुर्क्याएर जोत्यो, खुवाएर जोत्यो, हँसाएर जोत्यो, रुवाएर जोत्यो ।

जिन्दगीको फरक फरक स्वाद चखाएर जोत्यो ।

मेरो पौरखमा ठडियो उस्को गगनचुम्बी भवन,

बन्यो उस्को देशमा लमतन्न सडक अनि रेलको लिक ।

मैले मेरो ज्यानले सकेको कमाएँ,

मेरा पनि तिम्रा जस्तै भुरा छन पढाएँ, बढाएँ ।

अझ भनौँ ?

मेरो पसिनाको रेमिट्यान्सले नै तिम्रो गुजारा चल्या  छ।

बिना बिरुवा अनि बिना गोडमेलको फल,

तिम्रै वरिपरि फल्या छ।

अझै पनि मदेखि खुसी छैनौं मालिक ?

तिमी भन्छौ, थपडी बजाउ, तिम्रै गुणगान गाउ,

तिम्रै सिद्धान्तमा आउ ।

माफ पाउँ मालिक,

बिना भक्ती गाईने भजनमा, रागको मिठास दिन पटक्कै सक्तिन ।