फिचर

अब जिल्ला कटेर बाहिर जान नपाइने

काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्लासम्म जान नपाइने भएको छ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।

मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सरकार झस्किएको छ । लकडाउन केही खुकुलो पारेको सरकारले अब लकडाउन कार्यान्वयनलाई कडाईका साथ पालना गर्ने निर्णय समेत गरेको हो ।

पछिल्लो निर्णय बिहीबारदेखि लागू हुने भएको छ बुधबार भने यसअघिका पास लागु हुने भएका छन् ।

काठमाडौं उपत्यकामा भने जिल्लाको मापदण्ड लागु हुने छैन । अब उपत्यका भित्र सवारी चलाउन सरकारी कर्मचारीले पनि पास अनिवार्य लिनुपर्ने भएको छ ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेकोमा अब त्यसो गर्न नपाइने भएको छ ।

सरकारले जारी गरेको आधिकािरक सवारी पासबाट मात्र जिल्ला भित्र आवतजावत गर्न सकिने भएको छ । जिल्लाहरुको नाका भने सील हुने भएको छ ।

सञ्चारकर्मीले सूचना विभागको परिचयपत्रका आधारमा मात्र हिड्न पाउने भएका छन् । नेपालमा लकडाउन केही खुकुलो पारेसँगै लगातार दुई दिन दोब्बर संख्यामा संक्रमित बढेका छन् ।