फिचर

सरकारको बजेट खर्च निराशाजनक

काठमाडौं । कोरोना भाइरसको महामारी सङ्गै सरकारको बजेट खर्च समेेत निराशाजनक देखिएको छ । सरकारले बजेटमार्फत तय गरेको राजस्व संकलनको लक्ष्य र बजेट खर्च दुवै निराशजनक देखिएपछि तोकिएका धेरै लक्ष्य समेत पूरा नहुने भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार बैशाख मसान्तसम्म कुल लक्ष्यको ५० प्रतिशत पनि बजेट खर्च पुग्न सकेन ।

चालु आर्थिक वर्षको १० महिनामा (साउन-वैशाख) सम्म पुँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख बजेट विनियोजन भएकामा एक खर्ब १४ अर्ब ११ करोड ८० लाख खर्च भएको छ ।

जुन विनियोजित बजेटको २७.९७ प्रतिशत मात्रै हो । यो बेला ८० प्रतिशत खर्च भइसक्नुपर्ने समय हो । संशोधित लक्ष्यको ३४.९२ प्रतिशत मात्रै हो ।

वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड बजेट विनियोजन भएकामा वैशाख मसान्तसम्ममा ७४ अर्ब २३ करोड ६५ लाख मात्रै खर्च भएको छ । जुन विनियोजित बजेटको ४४.२३ प्रतिशत र संशोधित लक्ष्यको ४७.९९ प्रतिशत हो ।

यस्तै सरकारको राजस्व संकलनको लक्ष्य पूरा नहुने भएको छ । चालु आवको १० महिनामा लक्ष्यको ५६.५३ प्रतिशत मात्रै राजस्व संकलन भएसँगै सरकारी लक्ष्य पूरा नहुने निश्चित भएको हो ।

सरकारले यो आवमा ११ खर्ब ७० अर्ब २ करोड ८७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, आवको १० महिना बितिसक्दा राजस्व संकलन बजेटको लक्ष्यभन्दा धेरै पछि छ ।

वैशाख मसान्तसम्म सरकारको कुल राजस्व संकलन ६ खर्ब ६१ अर्ब ४४ करोड ४८ लाख मात्रै पुगेको छ ।लक्ष्य अनुसार राजस्व संकलन गर्न अबको दुई महिनामा सरकारले ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्नपर्छ ।