समाचार

लकडाउन जेठ २० गतेसम्म थपियो

काठमाडौं । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनका कारण संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि प्रधानमन्त्री कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो।

त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो। पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ सम्म त्यसपछि जेठ ५ गतेसम्मको लागि पुर्‍याएको थियो।