स्वास्थ्य

कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं ।
कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना भाइरस लागेर ज्यान गएकी पहिलो संक्रमित महिलाका नवजात शिशुको स्याहार तथा सहयोग गर्ने घोषणा गरेका छन् । केही नेपाली संचारमाध्यमलाई दिएको जानकारी अनुसार उनले नवजात शिशुलाई सहयोग गर्ने घोषणा गरेका हुन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा २ जेठमा आमाको निधन भएको थियो । त्यसबेला शिशु मात्र ९ दिनका थिए । शिशुको सोमबार गरिएको कोरोना परीक्षणमा नतिजा नेगेटिभ आएको छ ।

साथै उनका परिवारको परीक्षण समेत नेगेटिभ आएको छ । नेता बस्नेतले नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् । यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उनले जानकारी दिए ।
त्यस्तै शिशुलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षालगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनको प्रतिवद्धता छ ।