समाचार

संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई नियमित प्रक्रियाबाट अवरोध हुने देखेपछि चोरबाटोबाट ल्याउने प्रयास भइरहेको बताएका छन् । सोमबार व्यवस्थापिका संसदमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले नीति तथा कार्यक्रममा एमसीसीका केही कार्यक्रम छिराएपछि उनी आक्रोसित बनेका छन् ।

नेता रावलले राष्ट्रहित विपरित एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्नैपर्ने अडान लिएका थिए । रावलले कांग्रेस सभापतिले अभिव्यक्तिलाई महाकाली सन्धीसँग जोड्दै यस्तो काम राष्ट्रहित विपरित हुने बताए । एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको उनको भनाई छ । उनले नेपाली कांग्रेसले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गरेको सम्झिए । नेता रावलले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडी नबढाउने विश्वास व्यक्त गरे । एमसीसीमा रावलले कडा आलोचना गर्दै आएका छन् ।