स्वास्थ्य

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्‍यु ब्राजिलमा

कोरोना भाइरसको कारण ल्याटिन अमेरिकी देश ब्राजिलमा संसारका अरु देशहरुमा भन्दा उच्च संख्यामा नर्सहरुको मृत्‍यु भएको छ ।  संक्रमण सुरु भए यता ब्राजिलमा हालसम्म १५ हजार नर्सहरु संक्रमित भै सकेका छन्  भने बुधबारसम्म ब्राजिलमा १ सय ३७ जना नर्सको कोभिड -१९ को कारण मृत्‍यु भै सकेको ब्राजिलस्थित फेडरल नर्सिङ काउन्सिलले जनाएको छ । समाचार श्रोतका अनुसार कोरोना महामारीको यो समयमा  स्वास्थ क्षेत्रमा कामका लागि खटिने स्वास्थ्यकर्मीलाई सुरक्षाको लागि उपकरण र मेडिकल टिमको अभाबको कारणले ठुलो संख्यामा नर्सहरु संक्रमित र मृत्‍यु भएको जनाईएको छ । २१ करोड जनताको बसोबास रहेको ब्राजिल हाल कोरोना संक्रमणका लागि विश्वमा रसियालाई पछ्याउदै तेश्रो नम्बरमा छ । ब्राजिलमा बुधबारसम्म २ लाख ९१ हजार संक्रमित र १८ हजार ८ सय ५९ को मृत्‍यु भै सकेको छ ।  ल्याटिन अमेरिकाको दरिलो अर्थतन्त्र भएको ब्राजिल यतिबेला विश्व महामारीको कोरोनासँगको लडाईंमा त्यति दर्बिलो उपस्थिति जनाउन सकेको छैन । कतिपय राज्यहरुका पब्लिक हेल्थ सिस्टम ध्वस्त देखिएका छन् ।

ब्राजिलमा मृत्‍यु भएका कुल नर्सहरुको संख्या मध्ये आधा जति त सान पाउलो र रियो दि जेनेरियो कै छन् । मृत्‍यु हुने नर्सहरुमा अधिकांश ४१ देखि ५० बर्ष उमेरका छन् । ईन्टर्नेशनल काउन्सिल अफ नर्सेसका अनुसार मेइ महिनाको सुरुवातसम्म ३० देशका २६० नर्सहरुको मृत्‍यु कोभिड -१९ का कारण भै सकेको छ भने ९० हजार स्वास्थकर्मीहरु संक्रमित भएका छन् ।  

एजेन्सी