समाचार

दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

कसैको नराम्रो अर्कोको लागि राम्रो हुन्छ भन्ने भनाई अमेरिकाको अरबपतिमा लागू भएको छ । एमेजोनका मालिक जेफ बिजोस र फेसबुक टाईकुन मार्क जुकरबर्ग लगायतका केही अर्बपतिमा यस्तै भनाई चरितार्थ भएको छ । विश्वभर कोरोना महामारीको कारण ५० लाख ७५ हजार मानिस संक्रमित भए, ३ लाख ३१ हजार मानिसको मृत्‍यु भयो ।  अमेरिकामा मात्र १५ लाख ७३ हजार संक्रमित भए ९४ हजार ५ सयको मृत्‍यु भयो ।  करोडौं मानिसले रोजगारी गुमाए, लाखौंले ब्यापार ब्यवसाय गुमाए । करोडौंको भविष्य अन्योलमा छ । तर एमेजोन र फेशबुकका मालिकद्वय जेफ बिजोस र मार्क जुकरबर्गले आफ्नो सम्पत्तिमा अरबौं धन थप्न सफल भए । मार्च महिनाको मध्येदेखि मेई महिनाको मध्य भित्र लकडाउनको २ महिनाको अन्तरालमा एमेजोन मालिक जेफ बिजोसले ३४ अरब ६ करोड अमेरिकी डलर थप्न सफल भए भने फेसबुक मालिक मार्क जुकरबर्गले आफ्नो सम्पत्तीमा २५ अरब अमेरिकी डलर थप्न्न सफल भएको “अमेरिकन्स फर ट्याक्स फेयरनेस एन्ड द इन्स्टिचुट फर पोलिसी स्टडिज” ले जनाएको छ । उक्त रिपोर्टका अनुसार लकडाउनको दुई महिनामा अमेरिकाका अरबपतिहरुले १५ प्रतिशत थप सम्पत्ति थप्न सफल भएका छन् । अमेरिकाका कुल ६ सय अरबपति मध्ये पाँच अरबपति जेफ बिजोस, मार्क जुकरबर्ग, बिल गेट्स, वारेन बफेट, ल्यारी ईलिसनले गरेर ७६ अरब अमेरिकी डलर महामारीको लकडाउनमा कमाई गरेका छन् ।

अर्का अरबपति ईलन मस्कले आफ्नो सम्पत्तीमा ४८ प्रतिशत बृद्धि गरेर ३६ अरबको सम्पत्ति पुर्‍याउन सफल भएका छन् ।  जुकरबर्गले ४६ प्रतिशत  बृद्धि गरेर ८० अरब सम्पत्तिको मालिक बन्न सफल भएका छन् ।  बिजोसले लकडाउनको समयमा ३१ प्रतिशत थपेर १ सय ४७ अरब सम्पत्तिको मालिक बनेका छन् । बिजोसकी पूर्व पत्नी म्याकेन्जी बिजोस जो हालै जेफ बिजोससँग छुट्टीएकी थिईन, उनको पनि सम्पत्तिमा बृद्धि भएर ४८ अरब अमेरिकी डलरको सम्पत्ति पुगेको छ ।  

समाचार श्रोत : एन बि सि