समाचार

अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश

न्युयोर्क      

राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तदेखि अमेरिकामा अत्यावश्यक सेवा अन्तर्गत राखेर सम्पूर्ण गिर्जाघरहरु खोल्न्नु पर्ने जिकिर गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोना महामारी बीच प्रार्थनाको लागि गिर्जाघरहरु खोल्ने बिषयमा आफ्नो प्रशासनले निर्देशिका समेत जारी गर्ने शुक्रबार बताएका छन् । ट्रम्पले भनेका छन्; “कतिपय राज्यका गभर्नरले रक्सी पसल र एबोर्सन क्लिनिकलाई अत्यावश्यक सेवा अन्तर्गत राखेर खोलेका छन् तर हाम्रो प्रार्थना गर्ने चर्चलाई छुटाए । यो काम ठीक भएन । त्यसैले म यो अन्यायलाई सुधार गर्दै सम्पूर्ण गिर्जाघरहरुलाई अत्यावश्यक सेवा भनेर खोल्न भन्छु”।

राष्ट्रपति ट्रम्पले अमेरिका सबै राज्यका गभर्नरलाई आजैदेखि सम्पूर्ण गिर्जाघरहरु खुला गर्न भन्ने समेत बताउदै उनको आदेशमा सरुवा रोग नियन्त्रण केन्द्र (सिडिसि) ले निर्देशिका जारी गर्ने बताएका हुन् । यो बिषयमा कुनै गभर्नरको केही प्रश्न भए उनलाई फोन गर्न सक्ने तर गभर्नरहरु सफल नहुने ट्रम्पले बताएका छन् ।  

राष्ट्रपति ट्रम्पले गभर्नरहरुले यस्तो महत्वपूर्ण अत्यावश्यक निष्ठाको ठाउँ खुल्ला गरेर राख्नु पर्ने बताउँदै उनको प्रशासनको महामारीमा गिर्जाघरहरु खोल्ने निर्णय नमान्ने गभर्नरलाई नियन्त्रणमा लिने समेत शुक्रबार ह्वाईट हाऊसबाट भनेका छन् । अमेरिकामा शुक्रबारसम्म १५ लाख ९० हजार संक्रमित र ९५ हजारको मृत्‍यु भै सकेको छ ।