समाचार

गाडी भाडा ब्यवसायमा सम्राट मानिएको हर्ट्जले कोरोना मार थेग्न सकेन : गर्‍यो बैंकरप्सी फाइल

न्युयोर्क

गाडी भाडा ब्यापारको दुनियाँमा चर्चित नाम ‘हर्ट्ज’ ले कोरोना महामारीको कारण ब्यवसाय टाट पल्टिएको घोषणा गरेको छ ।  १ सय २ बर्षदेखि गाडी भाडामा लगाउने काम गर्दै आएको हर्ट्जले शुक्रबार ‘बैंकरप्सी’ फाईल गरेको हो । एक दर्जन फोर्ड मोडलका गाडी सहित सन् १९१८ मा ब्यापार सुरु गरेको हर्ट्जले दोश्रो विश्व युद्ध लगायतका ठुला ठुला आर्थिक मन्दि समेत पचाएको थियो तर हर्ट्जले कोभिड -१९ को महामारीको आर्थिक भार भने थेग्न सकेन ।

कोभिड १९ को कारण अकस्मात र नाटकीय रुपमा यात्राहरुमा आएको गिरावटले कम्पनीको आम्दानी र भविष्यको गाडी बुकिङ निकै घटेको कारण बैंकरप्सी फाईल गर्न बाध्य भएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाएको छ । कम्पनीले थप भनेको छ; “कहिलेदेखि आम्दानी हुन थाल्ने हो र कहिलेदेखि युज्ड कार बजार पूर्ण रुपमा बिक्रीको लागि तयार हुने हो ? भन्ने अनिश्चित भएपछि कम्पनी यो निर्णयमा पुगेको हो” ।  

आफ्नो आम्दानीको तीन भागको दुई भाग बिमानस्थलबाट आउने यात्रुलाई गाडी भाडामा लगाएर ब्यापार गर्दै आएको हर्ट्जले कोभिड -१९ को महामारीका कारण आम्दानीमा ठुलो गिरावट आएको दाबी गरेको छ ।  अमेरिकामा गत बर्षको यही समयमा भन्दा यो बर्ष ९४ प्रतिशत कम यात्रुले हवाई  यात्रा गरेको टिएसएले जनाएको छ । कोभिड -१९ को महामारी पछि अमेरिकामा नाम चलेका ठुला कम्पनी जेसि पेनी, नेम्यान मार्कस, जेई क्रिउको साथमा व्हाईट्निङ पेट्रोलियम डायमन्ड अफ सोर ड्रिलिङ लगायतका उर्जा कम्पनीले समेत बैंकरप्सी फाईल गरिसकेका छन् ।