फिचर

हायात होटेलका मजदुर आन्दोलनमा, मालिकले पाहुना आफ्नो होटेलमा राखेर हायातलाई वेवास्ता

काठमाडौं । सरकारको समेत स्वामित्व रहेको पाँचतारे होटेल हायात मजदुर आन्दोलनका कारण चार दिन देखि बन्द रहेको छ । होटल बन्द भएपछि यहाँ आएका पाहुनालाई अर्को पाँचतारे होटेल याक एण्ड यतिमा सारिएको छ ।

बुकिङ समेत रद्द गरिएको छ । यो होटेलमा अहिले अधिकतम स्वामित्व भारतीय नागरिक अरुण सर्राफसँग रहेको छ । अर्को पाँचतारे होटेल याक एण्ड यतिका मालिक पनि सर्राफ नै हुन् ।

एकातर्फ मजदूर आन्दोलनका कारण हायात होटेल घाटामा गएको प्रतिवेदन बनाउन पाइने र अर्कोतर्फ आफ्नो व्यक्तिगत स्वामित्वको याक एण्ड यतिले पर्याप्त विजनेश पनि पाउने, सर्राफका लागि यो भन्दा काइदाको उपाय अरु थिएन ।

मजदूरहरुका अनुसार सेवा सुविधा कटौती गरिएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । होटल व्यवस्थापनले एकलौटी रुपमा कर्मचारीको सेवा सुविधा कटौती गर्न थालेपछि आन्दोलन गर्न बाध्य बनेको अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघ हायात होटलका अध्यक्ष मुक्ति दाहाल बताउँछन् ।

उनका अनुसार नेपाली कामदारलाई होटलबाट निकाल्ने योजना अनुसार श्रमिकको बिमा, सञ्चित बिदा, बिरामी बिदा बापतको रकम, तथा तालिमका अवसरहरु कटौती भएका छन् ।

होटलमा अहिले करीव चार सय मजदुर रहेका छन् । यो होटेलमा सरकारी स्वामित्व रहेपछि संचालकले जहिले पनि घाटामा देखाएर सरकारलाई जिल्लाइरहेका छन् ।

तर, सरकारले यस सम्बन्धमा छानविन गर्न सकिरहेको छैन । यो होटेलको हिनामिनाका सम्बन्धमा संसदीय समितिमा छानविन भएपनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।