समाचार

सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् ।  आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे ।

आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा कूल २ खर्ब ६० अर्ब रुपैयाँको बजेट आएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष प्रदेशले कूल बजेट अकंमा २०.३३ प्रतिशतले बजेट बढाएका छन् ।

चाल आवमा प्रदेशको कूल बजेट २ खर्ब ६ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएका थिए । आगामी आवमा प्रदेश नं ३ ले ४७ अर्ब ६० करोड रुपैयाँको बजेट खर्च गर्नेछ । प्रदेश सरकारमध्ये सबैभन्दा ठूलो बजेट यही हो ।

चालु आवमा प्रदेश नं १ को बजेट सबैभन्दा ठूलो थियो । आगामी आवमा प्रदेश नं १ ले ४२ अर्ब २० करोड रुपैयाँको बजेट ल्याएको छ ।

सबैभन्दा थोरै बजेटका कार्यक्रम सुदुरपश्चिमले कार्यान्वयन गर्नेछ । यस प्रदेशको बजेट २८ अर्ब १६ करोड २० लाख रुपैयाँ रहेको छ ।
आगामी वर्ष प्रदेश सरकारहरुले सांसदलाई रकम बाड्न छुटाएनन् ।

अनुदानमा पर्याप्त रकम छुट्याएका प्रदेश सरकारहरुले नारामा भने भौतिक पूर्वाधार, कृषि, उद्योग, पर्यटनजस्ता विषयलाई निकै प्राथमिकता दिएका छन् ।

कुन प्रदेशको कति बजेट ?
प्रदेश नं १ : ४२ अर्ब २० करोड
प्रदेश नं २ :  ३८ अर्ब ७२ करोड
प्रदेश नं ३ : ४७ अर्ब ६० करोड
गण्डकी :  ३२ अर्ब १३ करोड
प्रदेश नं ५ : ३६ अर्ब ४१ करोड
कर्णाली :  ३४ अर्ब ३५ करोड
सुदुरपश्चिम : २८ अर्ब १६ करोड