स्वास्थ्य

नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८

काठमाडौं । नेपालमा कोरोनाबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या ६०८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा आइतबार साझ ५ जनामा कोरोना पुष्टि भएको हो । बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिस्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५ वर्षीय पुरुषमा पोजेटिभ देखिएको हो ।

उता, बाँकेको नारायणपुर भवनपुर माध्यमिक विद्यालयमा सङ्कलित १२९ नमूनाको परीक्षणका क्रममा राप्ती सोनारी गाउँपालिका –५ बाँकेका २४, २३, २३ र १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

पछिल्लो नतिजा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ। ३ जनाको ज्यान गएको छ । १०८ जना निको भएका छन् ।