समाचार

कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर

न्युयोर्क

अमेरिकामा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १ लाख पुग्न अब केही सय मात्र बाँकी छ । जुन संख्या राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै बेला अनुमान गरेको मृतकको संख्याको दोब्बर हो । देश कै अग्रणी संचार माध्यम न्युयोर्क टाईम्सले आफ्नो आईतबारको अंकमा ‘हिसाब नगरिएको क्षति’ शिर्षक राखेर पहिलो पृष्‍ठमा  महामारीमा मृत्‍यु हुनेहरुको नामावली मात्रै छापेको छ जस्ले हरेक चेतनशिल मानबलाई एक पटक भावुक बनाउँदछ।

अर्को तर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड -१९ बाट मृत्‍युहुनेहरुलाई श्रद्धान्जली अर्पण गर्नका लागि देशभरका संघीय भवन र राष्ट्रिय सम्पदाहरुका झन्डा तीन दिनसम्म आधा झुकाउने आदेश दिएका छन् । जोन हप्किन्स युभर्सिटीका अनुसार सोमबारसम्म अमेरिकामा १६ लाख ५० संक्रमित र ९८ हजार ५ सयको मृत्‍यु भै सकेको छ । तर पनि राष्ट्रपति ट्रम्प अमेरिकालाई पूर्णरुपमा सुचारु गर्न निकै हतारिएका छन् । उनले सबै धर्मको पूजा पाठ गर्ने गिर्जाघर मस्जिद मन्दिरलाई अत्यावश्यक सेवा घोषणा गरी सकेका छन् । यद्यपी स्वास्थ सेवाका बिज्ञहरुले भवन भित्र भिडभाड गर्नु निकै खतरा हुने चेतावनी दिंदै आएका छन् । महाशक्ति राष्ट्रमा कोभिड महामारीले १ लाख हाराहारीमा मानिसको मृत्‍यु  हुँदा राष्ट्रपति ट्रम्प भने मेमोरियल डेको सप्ताहन्त पारेर गल्फ खेल्न ब्यस्त रहे ।  

उता पूर्व उपरास्ट्रपति तथा राष्ट्रपति ट्रम्पका आगामी निर्वाचनका प्रतिस्पर्धी जो बाईडेनले भने “देशमा झन्डै एक लाख मानिसको मृत्‍यु  भएर मृतकको संख्या दिन दिनै बढदै गएको अवस्थामा देशको राष्ट्रपति भने गल्फ खेल्न ब्यस्त छ” भनेर ३० मिनेटको बिज्ञापन बनाएर ट्रम्पको खिल्ली उडाईरहेका छन् ।  

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले अमेरिकामा संक्रमण दरमा केही सुधार आए पनि जुनको १३ तारिखसम्म मृतकको संख्या १ लाख १० हजार नाघ्ने अनुमान गरिसकेको  छ ।  आईतबार एफडिए कमिस्नर स्टेफन हाङले ट्विटर मार्फत जानकारी दिंदै लेखेका छन्; “अमेरिकामा कोरोना रोकथाम भएको छैन । यो बिदादेखि देश खुल्न थाले पनि म फेरी पनि भन्छु कोरोना भाईरस अहिलेसम्म रोकथाम भएको छैन । आफु पनि सुरक्षित हुने र समुदायलाई पनि सुरक्षित राख्ने कुरा प्रत्येक ब्यक्ती आँफैमा निर्भर हुन्छ । सामाजिक दुरी कायम गर्ने, हात धुने र मास्क लगाउने कुराले हामी सबैलाई बचाउँदछ । यद्यपी राष्ट्रपति ट्रम्प आँफै मास्क लगाउदैन र राष्ट्रपति ट्रम्पलाई आफ्नो आदर्श मान्नेहरु पनि मास्क लगाएर सार्वजनिक स्थानमा जाँदा आफ्नो साख गिर्ने ठान्दछन । हजारौं भेला भएर गरिने पुल पार्टी र ब्लक पार्टीहरु सुरु भै सकेका छन् । साउथ क्यरोलिनाको एक शहरमा आयोजित एक ब्लक पार्टीमा त शनिबार गोली हना हान भएर दुई जनाको मृत्‍यु  समेत भएको खबर छ” ।  

मेमोरियल डे मनाउन उत्साहित अमेरिकी र राष्ट्रपति ट्रम्पको अमेरिका खोल्ने हतारो बीच २४ तारिख आईतबार वासिङ्टन पोस्टले कसरी १०२ बर्ष अगाडि विश्वमा ५ करोड मान्छे मारेको ‘स्प्यानिस फ्लु’ ले करिव ५ लाख मान्छे अमेरिकामा मारेको र महामारी पूर्ण नियन्त्रणमा नआईकन देशको अर्थतन्त्र खुल्ला गर्दा कसरी त्यतिबेला मान्छे सोत्तर भएका थिए ? बृस्तितमा लेखेको छ ।