फिचर

जापानको फुकुओकामा पहिलो पटक नेपाल एयरलाइन्स पुग्दै

काठमाडौं । मंगलबार राती नेपाल एयरलाइन्स जापानको फुकुओकातर्फ उड्दैछ । नेपालबाट नेपाली विद्यार्थीलाई लिएर पहिलो पटक नेपाल एयरलाइन्स यो शहरमा जान लागेको हो । यसअघि नेपाल एयरलाइन्स नारिता र ओशाकामा पुगेको थियो । लकडाउनका कारण नेपालमै अड्किएका दुई जापानीसहित प्रवासी नेपालीलाई लिएर नेपाल एयरलाइन्सको चार्टर्ड विमान जापानको क्युसुको फुकुओकातर्फ उड्न लागेको नेपालको सरकारी समाचार समिति राससले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजमा २६४ जना नेपाली छन् ।

उनीहरु जापानमा विद्यार्थी र कामदार भिसामा कार्यरत रहेका बेला बिदामा नेपाल आएका थिए । नेपालमा लकडाउन भएपछि यतै रोकिएकाहरुलाई सरकारको अनुमतिपछि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले चार्टर्ड फ्लाईटको व्यवस्थापन गरेको हो । मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार २ जना जापानिजसहित २६६ यात्रु लिएर नेपाल एयरलाइन्स मंगलबार राति ११ बजे पहिलोपटक जापानको क्युसुको फुकुओका उडन लागेको हो । जहाज बुधबार बिहान ८ बजे जापान पुग्नेछ । सबै यात्रुसँग ११ सय डलरमात्रै भाडा लिइएको छ ।

सो समितिले जापानको नियम(कानूनअनुसार यात्रुहरुको व्यवस्थापन गर्ने बस्नेतले जानकारी दिए । यसअघि गत मे २४ मा टोकियोका लागि उडान भएको थियो । फुकुओकामा हुने उडान क्युसु क्षेत्रकै पहिलो चार्टड फ्लाईट हो । नारितामा भने नेपाल एयरलाइन्सले नियमित उडान समेत गर्छ ।