फिचर

एडीबीले नेपाललाई दिने भयो ३० अर्ब ऋण सहायता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई दिने ३० अर्ब रुपैयाँ (२५ करोड डलर) ऋण सहायता स्वीकृत गरेको छ । एडीबीले मंगलबार यस्तो जानकारी गराएको हो । कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर ऋण सहायता स्विकृत भएको बताइएको छ । सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड १९का कारण परेको आर्थिक तथा सामाजिक क्षति न्यूनीकरण गर्न यो रकम उपलब्ध गराइएको एडीबीले जनाएको छ ।

एसियाली विकास बैंकका अध्यक्ष मसास्टुगु असकावाले प्रतिकुल अवस्थामा बैंक सबै नेपालको साथमा रहने बताएका छन् । उनले सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने समेत जानकारी गराएका छन् । गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम बिस्तार गर्न र तीब्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने उनको भनाई छ ।

यो रकमबाट प्रदेश प्रदेशमा कम्तिमा २ लाख क्षमताको क्वारेन्टाइन निर्माण तथा दैनिक ३ हजार मानिसलाई कोरोना परीक्षणको दायरामा ल्याउन सहयोग पुग्ने बैंकको विश्वास छ । एडीबीले यसअघि नेपाललाई कोरोनासँग जुध्न ३ लाख डलर सहयोग गरिसकेको छ ।