समाचार

रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला

रुकुम । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा घटेको घटनामा हराइरहेका तीन जना मध्ये एक जनाको शव बुधबार फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव भेरी नदीको किनारमा फेला परेको प्रहरीले पुष्टी गरेको छ । उनको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेका हुन् ।

अब रुकुम पश्चिममा भएको मानवीय नरसंहारमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको यस घटनामा ज्यान गइसकेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक भने अझै हराइरहेका छन् ।

प्रहरीले बुधबारबाट गोताखोर परिचालन गरी खोजी शुरु गरेको छ । जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक आफ्नी प्रेमिकालाई भगाउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयको आक्रमणमा परेका थिए । उनीहरु १९ जनाको टोलीमा थिए । ज्यान जोगाउन नवराजसहित युवाहरु भेरी नदीमा हाम फालेका थिए । घटनामा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ ।

(photo:The Kathmandu Post)