फिचर

आफ्नो झुठ अभिव्यक्तिको तथ्य जाँच गरेपछि सामाजीक सञ्जाल बन्द गर्ने ट्रम्पको धम्की

फाईल फोटो

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरले आफ्नो झुठो अभिव्यक्तिको तथ्य जाँच गरेपछि सामाजीक सञ्जाल प्रति क्रुद्ध बनेका छन् । उनले सामाजीक सञ्जालनै बन्द गर्ने चेतावनी दिएका हुन् ।

ट्रम्पले केही दिन देखि घरैबाट मतदान गरि हुलाकबाट पठाउने प्रावधानको चर्को विरोध गरि रहेका छन् । त्यसरी मतदान गर्न दिँदा फर्जी भोट खस्ने उनको दावी छ । तर, अहिलेसम्म अमेरिकामा हुलाकबाट पठाइएको भोटमा त्यस्तो कुनै खोट फेला परेको छैन ।

ट्रम्पले मंगलबार पनि हुलाकबाट पठाइने भोटको विरोधमा ट्विट गरेका थिए । उनका ट्विटले मतदान प्रति जनतालाई झुक्याएको भन्दै ट्विटरले तथ्य जाँचको लिंक राखि दिएको थियो । उनको ट्विटसँगै ट्विटरले त्यस्तो लिंक राखिदिएको थियो, जुन खोलेर हेर्दा ट्रम्पले भने बमोजिम हुलाकबाट पठाइने भोटमा कुनै फर्जि घटना नभएको बारे बिभिन्न मिडियामा प्रकाशित समाचारहरु भेटिन्छन् ।

ट्रम्पले लगातार मतदान बारे झुठो प्रचार गरेपछि ट्विटरले पहिलो पटक कुनै ट्विटसँगै तथ्य जाँचको लिङ्क राखिदिएको हो । त्यसप्रति क्रुद्ध भएका ट्रम्पले मंगलबारै २०२० को चुनावमा ट्विटरले हस्तक्षेप गर्न खोजेको एवं आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन गरेको दावी सहित अर्को ट्विट लेखेका थिए । ट्विटरले राखेको लिंकबाट सिएनएन, वासिंटन पोष्ट जस्ता सञ्चार माध्यमको समाचार भेटिने र त्यो आफैँमा झुठो रहेको ट्रम्पको दावी छ । आफ्नो असत्य अभिव्यक्ति खुट्याउने सबै मिडियालाई ‘फेक’ संज्ञा दिने ट्रम्पले भने आफ्नो दावीमा कुनै तथ्य प्रस्तुत गरेका छैनन् ।

ट्रम्पले बुधबार बिहान फेरि अर्को ट्विट गर्दै रिपब्लिकनहरुले सामाजीक सञ्जाल बन्दको कदम उठाउने चेतावनी दिएका हुन् । ‘पुरातन (कन्जरभेटिभ) आवाजलाई सामाजीक सञ्जालले पुर्णतया निश्तेज पार्न खोजेको रिपब्लिकनहरुको बुझाइ छ, कुनै सामाजीक सञ्जालको नाम नतोकी उनले लेखेका छन्- यस्तो अवस्था रहन दिनु भन्दा हामी यसलाई बलियो नियमनमा राख्छौँ या नभए बन्द नै  गरिदिन्छौँ ।’

त्यसको केही घण्टामा उनले ट्विटरलाई तोकेरै ठूलो कदम चाल्ने चेतावनी दिएर अर्को ट्विट गरेका थिए । ट्रम्पको सामाजीक सञ्जाल एवं ठूला टेक कम्पनीप्रतिको रोष पहिलो पटक होइन । यसअघि पनि उनले यस्ता कम्पनीले आफुहरुप्रति भेदभाग गरेको पटक पटक गुनासो गर्दै आएका छन् । बिशेष गरि आफ्ना समर्थकको आवाज सामाजीक सञ्जालले निश्तेज पारेको उनको दावी रहँदै आएको छ । ट्रम्प समर्थकले जाति एवं समुदाय विशेषप्रति घृणा एवं हिंसात्मक अभिव्यक्ति दिँदा सामाजीक सञ्जालहरुले सच्याउने गरेका छन् । त्यसैलाई उनले भेदभावको संज्ञा दिएका हुन् ।