फिचर

अफ्रिकी रैथाने सलह नेपाल छिर्ने सम्भावना, कृषि बालीमा उच्च जोखिम

काठमाडौं । अफ्रिकाको रैथाने सलह प्रजातीको विनासकारी किरा नेपाल आउन सक्ने सम्भावना बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अफ्रिकामा उत्पत्ती भएको यो किरा इरान, पाकिस्तान, भारत हुँदै नेपालतर्फ आउने सम्भावना छ । फट्याङ्ग्रा प्रजातिमा पर्ने यो किरा प्रवेश गर्यो भने हरियो बालिनाली सखाप पार्छ । त्यसले ठूलो खाद्य संकट निम्त्याउन सक्ने चेतावनी मन्त्रालयको रहेको छ । किरा अहिले भारतको नयाँ दिल्ली आसपास रहेको बताइएको छ । यो किरा ठूलो झुण्ड बनाएर उड्छ । हजारौं किरा एक साथ आउँदा त्यसले आकासमा बादल लागेको जस्तै भान हुन्छ ।

नेपालमा यसअघि ६० वर्ष पहिले यस्तो सलहको झुण्ड आएको थियो । काठमाडौं उपत्यका र आसपासका जिल्लामा सलहले ठूलो क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ । सलहको सम्भावित प्रकोप रोकथामका लागि सरकारले पाँच सदस्यीय प्राविधिक समिति गठन समेत गरेको छ । समितिले नेपाल नजिकै आएको सलहको झुण्ड नेपाल पसे त्यसले पुर्‍याउन सक्ने क्षतिको आकलन र क्षति न्यूनीकरणको पूर्वतयारीका बारेमा योजना बनाउने जिम्मेवारी पाएको छ ।

समितिलाई विषादीको मौज्दात हेरेर आयात आवश्यक देखिए त्यसको पनि तयारी गर्न समेत कार्यभार दिइएको छ । पाकिस्तानबाट हावाको चापसँगै पूर्व मडारिएको सलहको विशाल झुण्ड भारतको गुजरात, मध्यप्रदेश, राजस्थान, महाराष्ट्र हुँदै अहिले नयाँदिल्ली नजिक पुगेको मन्त्रालयले उल्लेख गरेको छ । पश्चिमी वायुको चापले यसलाई सुदूरपश्चिम प्रदेशबाट नेपाल प्रवेश गराउन सक्ने भन्दै मन्त्रालय यसको रोकथाममा जुटेको हो ।