समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत रहेको छ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले जानकारी दिए।

उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइनेछ।

राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताए।

अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि उनले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेका थिए। जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) विनियोजन गरिएको थियो।