समाचार

ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजीक सञ्जाल लक्षित गरि नयाँ कार्यकारी आदेश जारी गरेका छन् । हुलाकबाट पठाइने भोट (मेल इन ब्यालेट) मा फर्जी मतदान हुने अपुष्ट दावीलाई ट्विटरले तथ्य जाँच लिंक उपलब्ध गराएपछि क्रुद्ध बनेका ट्रम्पले विहीबार नयाँ आदेश जारी गरेका हुन् ।

आफुले वाक स्वतन्त्रताको रक्षाका लागि नयाँ आदेश जारी गरेको उनको दावी छ । ट्रम्पले मंगलबार हुलाकबाट प्रेषित गरिने मतदानमा फर्जी भोटको मात्रा बढि हुने दावी गर्दै ट्विट गरेका थिए । उक्त ट्विटसँगै ट्विटरले तथ्य जाँचको लिंक राखिदिएको थियो । जुन खोल्दा हुलाकबाट हुने मतदानमा फर्जी भोट खस्ने ट्रम्प दावी असत्य रहेको बिभिन्न मिडिया रिपोर्टमा पुगिन्छ ।

विहीबार जारी गरेको कार्यकारी आदेशमा सामाजीक सञ्जाल कम्पनीले प्रयोगकर्ताले राखेको कुनै पनि स्टाटसलाई सम्पादन गर्न, तथ्य जाँच गर्न या हटाउन नपाउने उल्लेख छ । ट्रम्प झुठ अभिव्यक्तीका लागि माहिर छन् । निर्वाचित भएको साढे तीन बर्षमा उनले १८ हजार बढि झुठ एवं तथ्य तोडमोड गरेको अभिव्यक्ति दिएको वासिंटन पोष्टले उल्लेख गरेको छ । उनी त्यही झुठ बोल्ने कलाका कारण आफ्ना समर्थक माझ लोकप्रिय छन् र आफ्नो बोलीमा तथ्य जाँच गर्नेलाई उल्टो फेकको संज्ञा दिने गरेका छन् । सोही कारण ट्विटरबाट आफ्ना हरेक भनाइ हुबहु आफ्ना समर्थकसम्म पुगोस् र उनीहरुले पत्याउने भन्ने ट्रम्पको चाहना हुन्छ ।

ट्रम्पको कार्यकारी आदेश विरुद्ध अदालतमा मुद्दा दायरर हुन सक्ने बताइएको छ । ट्रम्प समर्थक कानून व्यवसायीले पनि यो आदेश जारी गर्ने उनको अधिकारी प्रति प्रश्न उठाएका छन् ।