समाचार

जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क

न्युयोर्क     

कोरोनाको कारण लकडाउनमा बसेका लाखौं न्युयोर्कबासीलाई गभर्नर एन्ड्रु कुमो र मेयर बिल दि ब्लाजियोले शुक्रबार न्युयोर्क खुल्ने खुसीको खबर बाँडेका छन् ।उनीहरुले आगामी जुन ८ तारिखदेखि न्युयोर्क सहरलाई पहिलो चरणमा खोलिने बताएका हुन् । यद्यपी सहरलाई पहिलो चरणमा सुचारु गर्न तोकिएको तीन ‘रेस होल्ड’ भने पुरा गर्नै पर्छ । राज्यले न्युयोर्कलाई चरणबद्ध खुला गर्न अस्पताल भर्ना भएका बिरामी संख्या, आईसियुमा राखिएका बिरामी संख्या, सहरमा कोरोना संक्रमितहरुको प्रतिशतलाई थ्रेस होल्ड तोकेर कोरोनाको बिश्लेषण गर्दै आएको छ ।  

शुक्रबारसम्म अस्पताल भर्ना हुने बिरामीको संख्या तोकिएको थ्रेस होल्ड भन्दा कम भैसकेको तर आईसियुमा उपचारत बिरामीको संख्या भने थ्रेस होल्ड भन्दा माथि नै रहेको मेयर ब्लाजियोले बताए छन् । शुक्रबारसम्म न्युयोर्क सहर भित्र ३ सय ९१ जना बिरामी आईसियुमा रहेको जबकी न्युयोर्कलाई पहिलो चरणमा खुल्ला गर्न राज्यले तोकेको आईसियु बिरामी थ्रेस होल्ड संख्या ३ सय ७५ हुनु पर्ने भए पनि जुन ८ सम्म आईसियुका बिरामी संख्या घट्ने आत्मबिश्वास साथ गभर्नर कुमो र मेयर ब्लाजियो न्युयोर्क खोल्ने निर्णयमा पुगेका हुन्। मेयर ब्लाजियो भन्छन् “शुक्रबार हामीसँग न्युयोर्कका बिभिन्न अस्पतालमा भएका आईसियु बिरामीको संख्या मध्ये ४० जना नियमित वार्डमा ल्याएर उपचार गर्न लायक अवस्थामा छन् ।  हामीलाई पूर्ण विश्वास छ, जुन ८ तारिखसम्म ती ४० जना बिरामी वार्डमा आउने छन् र थ्रेस होल्ड सिमा पुरा हुनेछ ।  

जुन ८ तारिख पहिलो चरणमा न्युयोर्क खुलेपछि निर्माण ब्यवसाय बन जंगल सम्वन्धि ब्यवसाय, माछा पालन ब्यवसाय,  सिकार ब्यवसाय, उत्पादन ब्यवसाय, थोक तथा किराना ब्यवसाय संचालन हुने छन् ।  पहिलो चरणमा न्युयोर्क खुलेपछि करिब ४ लाख मानिस सार्वजनिक यातायातका साधन प्रयोग गरी काममा फर्किने अपेक्षा गरिएको छ ।