समाचार

प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

न्युयोर्क     

मिनियापोलिसमा मृत्‍यु हुने जर्ज फ्लोएडको पक्षमा शुक्रबार राती न्युयोर्क ब्रुकलिनमा आयोजित बिरोध कार्यक्रममा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा  एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडिको प्रदर्शनीमा सडकमा रोकी राखेको न्युयोर्क पुलिस डिपार्टमेन्टको गाडीमा प्रज्वलनशिल पदार्थ भरिएको सिसाको बोतल प्रहार गरिएको थियो । बोतल प्रहार गर्दाको समयमा चार जना प्रहरीहरु गाडी भित्रै रहेको जनाईएको छ । यद्यपी बोतल भने बिस्फोट नभएको र प्रहरीलाई चोट पनि नलागेको डेली मेलले लेखेको छ । प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरिएको आरोपमा न्युयोर्क अपस्टेट निवासी सामन्था साडरलाई प्रहरीले पक्राऊ गरेको हो । साडरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनको २१ वर्षीय बहिनी डेरियनको प्रहरीसँग भनाभन भएपछि बहिनीलाई समेत नियन्त्रणमा लिईएको ‘डेली मेल’ ले लेखेको छ ।  

जर्ज फ्लोएडको मृत्‍युको बिषयलाई लिएर न्युयोर्कमा शुक्रबार करिब ३ हजार मानिस प्रदर्शनीमा सहभागि भएका थिए । न्युयोर्कमा शुक्रबारको प्रदर्शनीमा प्रहरीको एक गाडीमा आगो लगाईयो भने अर्को एक गाडी तोडफोड गरिएको जनाईएको छ । २ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शनिबार न्युयोर्क प्रहरी कमिसनर डर्मोन्ट सिआले; “भगवानको कृपाले कुनै पनि प्रहरी कर्मचारीको मृत्‍युको खबर सुन्नु नपरेको” प्रतिकृया दिएका छन् । अमेरिकाका अधिकांश राज्यमा प्रदर्शन भएको थियो ।