समाचार

भारतीयहरु नेपाल छिर्न खोजेपछि सीमानामा विवाद, प्रहरीले गर्यो हवाई फायर

फाइल तस्वीर

काठमाडौं । नेपालमा जारी लकडाउनका बीच भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । भिड नियन्त्रण गर्न सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । यो समूहले हुलहुज्जत गरी प्रहरीको हतियार समेत खोस्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

सोही क्रममा भिड नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको प्रहरीले जानकारी दिएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटिएको छ । नेपालमा अहिले भारतबाट छिर्ने गरी २० वटा नाकामात्र तोकिएको छ । ती बाहेक नाकाबाट छिर्न खोजे त्यो अनाधिकृत हुन्छ ।