समाचार

बाँकेमा भयानक सडक दुर्घटना, १२ को ज्यान गयो

नेपालगन्ज । बाँकेका भयानक सडक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सोमबार राती गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा १२ जनाको ज्यान गएको छ । २० जना घाइते छन् । उनीहरुमध्ये अझै केहीको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ । भारतको रूपैडिया नाकाबाट नेपाल प्रवेश गरेकाका नेपाली नेपालगञ्जबाट सल्यान जान हायस फोर्स गाडी चढेका थिए ।

अत्यन्तै तिब्र गतिमा रहेको यो गाडी सडकमा रोकिराखेको ट्रकमा ठोक्किएको बताइएको छ । घटना रातको १२ बजेतिर भएको थियो । दुर्घटनामा ११ जनाको घटनास्थलमै निधन भएको थियो । घाइतेहरुलाई भेरी अञ्चल अस्पताल नेपालगन्ज लगिएको थियो । एक जनाको उपचारको क्रममा ज्यान गएको छ ।

ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । ज्यान जानेमा ११ पुरुष र एक महिला रहेका छन् । मृतकको सनाखत भने भइसकेको छैन ।