फिचर

स्कुल खोल्ने निर्णय नभएको मन्त्रालयको स्पष्टिकरण, वैकल्पिक व्यवस्थाबाट पठनपाठन सूचारु

काठमाडौं । लामो लकडाउनका कारण नयाँ शैक्षिक सत्र नै प्रभावित हुने भएपछि सरकारले अब वैकल्पिक व्यवस्था गरेरै भएपनि पठनपाठन शुरु गर्ने भएको छ । यसका लागि शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ ल्याएको छ । यस निर्देशिका अनुसार अब शिक्षण संस्थाले सम्भव हुने विकल्प प्रयोग गरी घरमै रहेका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउनु पर्नेछ ।

तर, यसबीचमा स्कूल खोल्ने निर्णय भने नभएको मन्त्रालयले स्पष्ट पारेको छ । १ असारबाट स्कुल खुल्दैछन् भन्ने सन्देश गएको छ । तर, यसमा भने नेपाल सरकारले गर्ने निर्णय नै लागु हुने भन्दै मन्त्रालयले आफ्नो स्तरबाट कुनै निर्णय नगरेको स्पष्ट पारेको हो । तर, स्कुल खोल्ने अवस्था नभए पनि पढाई भने अब सूचारु गरिने भएको छ ।

विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दुर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न लागिएको मन्त्रालयको भनाई रहेको छ । असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायले पहल गर्नुपर्ने भएको छ । अब इन्टरनेट, रेडियो, टिभी, अनलाइन, अफलाइन वा अन्य विकल्पबाट समेत पठाई हुनेछ ।